सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले संयुक्त प्रयासबाट जस्तोसुकै विपद्को सामना गर्न सकिने बताएका छन् । विपद् बाजा बजाएर नआउने भएकाले विपद्को सामना गर्नका लागि पहिले नै तयारी हुन आवश्यक रहेको उनले उल्लेख गरे । मन्त्री शाहले सरोकारवाला सबैको एकीकृत प्रयासमा भएमा जुनसुकै विपद्को सामना गर्न सकिने बताए । सामाजिक विकास मन्त्रालय र रेडक्रस कैलाली शाखाले धनगढीमा आयोजना गरेको विपद् व्यवस्थापनको सन्दर्भमा प्रजनन् स्वास्थ्य सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले भने–‘कोही एक्लैको प्रयासले विपद्को सामना गर्न नसकिने भएकाले एकीकृत प्रयास हुन आवश्यक छ ।’
उनले विपद्को सामना गर्नका लागि सबैले पूर्व तयारी र समन्वय गरेर अगाडि बढ्न आवश्यक रहेको औंल्याए । उनले प्रदेश सरकारले विपद् न्यूनीकरणका लागि प्रयास गर्दै आएको चर्चा गर्दै यसमा सरोकारवाला सङ्घ संस्थाहरुको सहयोग, समन्वय हुन जरुरी रहेको बताए । पद्को सामना गर्नु जमिन मुनिबाट पानी निकाल्न सरह रहेको मन्त्रीको भनाइ थियो । उनले सुनामी बाहेक हाम्रो मुलुकमा बाँकी सबै खाले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले सधैं पूर्व तयारी गरेर बस्न जरुरी रहेको उल्लेख गरे । महिला आफैमा जोखिम वर्ग रहेको र विपद्को बेला झनै जोखिममा पर्ने गरेका कारण महिलाको सवालमा अझ संवेदनशील हुनु पर्ने मन्त्री शाहको धारणा थियो ।
सावधानी र सचेतना नभएमा जुनसुकै बेला आउने विपद्ले ठूलो क्षति पु¥याउन सक्ने उनले बताए । ‘त्यसैले संयुक्त प्रयासबाट इमानदारितापूर्वक काम गरौं’, मन्त्री शाहले अगाडि थपे–‘इच्छा शक्तिका साथ काम गरेमा विपद् न्यूनीकरण गर्न सकिन्छ ।’ प्राकृतिक विपद्लाई रोक्न नसकिने भए पनि न्यूनीकरण गर्न सकिने मन्त्रीको भनाइ थियो । उनले जुनसुकै विकासको काम गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्न आवश्यक रहेको औंल्याउँदै प्रदेश सरकार यसमा सचेत रहेको उल्लेख गरे ।
नेपाल जलवायु परिवर्तन जोखिमको हिसाबले चौथो, भूकम्पीय जोखिमको हिसाबले ११ औं र पानीजन्य जोखिमको हिसाबले २० औं स्थानमा रहेको जनाइएको छ । प्राकृतिक विपद् जस्तोसुकै परिस्थितिमा आउन सक्ने भएकाले सचेतना, पूर्व तयारी, बन्दोबस्ती गर्न आवश्यक रहेको सुदूरपश्चिम प्रदेशका मुख्य सचिव नारायणप्रसाद विडारीले बताए ।
‘यसले विपद्को बेला प्रतिकार्य गर्न सहज हुनेछ’, उनले भने । विपद्का बेला प्रजनन स्वास्थ्य, मातृशिशु स्वास्थ्य कसरी सुरक्षित गर्न सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी रहेको विडारीको भनाइ थियो । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गोविन्दप्रसाद पोखरेलले सुदूरपश्चिमको लागि विपद् व्यवस्थापन मुख्य मुद्दा रहेको बताए ।
‘त्यसकारण, मन्त्रालयले विपद् व्यवस्थापन, महिला हिंसा र प्रजनन स्वास्थ्यको सन्दर्भमा कार्यक्रम सञ्चालन गर्दै आएको छ’, उनले भने । विपद् पूर्वाणुमान अनुसार यो प्रदेश विपद्को ठूलो जोखिममा रहेको निमित्त सचिव पोखरेलको भनाइ थियो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर रावत, बालस्वास्थ्य महाशाखाका निर्देशक डा. झलक गौतम, युएनएफपीएका निलकण्ठ गौतम लगायतले विपद् व्यवस्थापन र विपद्का बेला आइ पर्ने प्रजनन् स्वास्थ्य समस्याका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले गरेका थिए ।