धनगढी, १५ मंसिर- बैतडीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका वडा नम्बर ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपिट भएको हो। शनिबार बिहान १० बजेतिर उत्तरामाथि उनकै देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपिट गरेको उत्तराका भाइ शेरबहादुर महराले बताए।
उत्तरालाई देखेपछि छोरो बिरामी हुन्छ भन्ने आरोप लगाएर दिदीमाथि कुटपिट भएको महराले बताए। बोक्सीको आरोपमा कुटपिट गरिएकी उत्तरालाई उपचारका लागि शनिबार राती नै जिल्ला अस्पताल बैतडी र्पुयाइएको छ। उत्तरामाथि कुटपिट भएको पुर्चौंडी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रम्बा बोहराले पुष्टी गरे।
के कारणले कुटपिट गरियो भन्ने बारे सोधीखोजी गरिरहेको उनले बताए। बोक्सीको आरोपमा महिलामाथि कुटपिट भयो भन्ने खबर आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। उनले शनिबार साँझ खबर पाएको बताए। बोक्सीको आरोपमा अथवा अरु कुनै हिसाबले कुटपिट गरिएको रहेछ भने कुटपिट गर्नेमाथि कानुनअनुसार कारवाही गरीने उनले बताए।