१२ मङ्सिर, २०७६
आजको पत्रपत्रिकामा प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको सबैजसो पत्रिकाले प्राथमिकताका साथ लेखेका छन् । त्यस्तै बस दुर्घटनामा परेर अर्घाखाँचीमा १९ जनाको निधन भएको विषय पत्रपत्रिकाको ‘हेडलाइन’ बनेका छन् । कान्तिपुर दैनिकमा प्रधानमन्त्रीको स्वास्थ्या सुधार हुदै गएको समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिमा बुधबार सुधार देखिए पनि उनी अझै ‘पूर्ण खतरामुक्त’ नरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
उनीहरुका अनुसार एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियासँगै ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गरिए पनि अन्य संक्रमणको जोखिम यथावत् छ । ‘हाल शल्यक्रियाको माध्यमले पेट सफा गरेर संक्रमणको स्रोत हटाएका छौ,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘अहिले एन्टिबायोटिक दिएर संक्रमण नियन्त्रण गर्ने प्रयास जारी छ ।’ साथै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने नातेदारको परीक्षण भइरहेको समाचारमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणका लागि दाताहरु खोजिसकिएको कान्तिपुर समाचारमा उल्लेख छ । नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री आृली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि दाता खोज्न थालिएको हो ।
त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ । कान्तिपुरमै अर्घाखाँचीमा भएको बस दुर्घटनामा परेर १९ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको समाचार छ ।
अन्नपूर्ण पोस्टमा भारतीय राजपत्रमा लिम्पियाधुरा नेपालकै रहेको उल्लेख छ । भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ। स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ।
सन् १९६२ को भारत–चीन युद्धपछि भारतले कालापानीछेउमा नक्कली कुलो बनाएर त्यसलाई काली नदी भन्दै आएको छ। सुगौली सन्धिमा भने नेपालको पश्चिम सीमा काली नदी उल्लेख भएको हुँदा नक्कली कुलोलाई नै काली मानेर भारतले नेपाली भूमि अतिक्रमण गरेको छ। राजपत्रमा भनिएको छ, ‘काली नदीको उद्गमस्थल लिम्पियाधुरा क्षेत्रको कुटीयाङ्दी हो।’ भारतले सन् १८५६ पछिका नक्सामा काली नदीलाई सारेर लिपुखोला काली नदी भनेको छ भने वास्तविक काली नदीलाई कुटीयाङ्दी भनेको छ।
सीमा अभियन्ता श्याम श्रेष्ठले सिंहदरबारमा बुधबार भएको छलफलमा राजपत्रमा काली नदीको शिर लिम्पियाधुरा स्पष्ट उल्लेख रहेको बताए। उनले तथ्य, प्रमाण, नक्सा र ऐतिहासिक पृष्ठभूमिले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएको स्पष्ट रहेकाले सबै प्रमाण संकलन गरेर भारतसँग वार्तामा बस्न सरकारलाई सुझाव दिए।
श्रेष्ठले महाकाली सन्धिताका पदमरत्न तुलाधरको संयोजकत्वमा सीमा अतिक्रमण प्रतिकार समिति गठन गरेर आफूहरूले एक वर्ष ३ महिना लगाएर तथ्य संकलन गरेको जानकारी गराए। उनका अनुसार नापनक्सा खोजबिन उपसमिति र ऐतिहासिक तथ्य खोजबिन समितिले बेलायतसम्म पुगेर तथ्य ल्याएको थियो।
नयाँ पत्रिका दैनिकले साग सुरक्षामा साढे १९ हजार सुरक्षाकर्मी परिचालित हुने समाचार छ । १५ मंसिरमा औपचारिक उद्घाटन हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालको नेतृत्वमा साढे १९ हजार सुरक्षाकर्मी परिचालित हुँदैछन् ।
भित्री घेरामा प्रहरी र बाहिरी घेरामा सशस्त्र र सेना परिचालन हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले सुरक्षामा आइपर्ने खतराको सम्बन्धमा सूचना संकलन र विश्लेषण गर्नेछ । काठमाडौं र ललितपुरमा हुने प्रतियोगिता, खेलाडी, खेलमैदान र होटेलहरूको सुरक्षा प्रबन्ध आइजिपी खनालको प्रत्यक्ष कमान्डमा हुनेछ । जनकपुरमा हुने खेलको प्रदेश २ प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्की र पोखरामा गण्डकी प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले सुरक्षा नेतृत्व गर्नेछन् । ‘भित्री घेराको सुरक्षा नेपाल प्रहरीले गर्नेछ भने त्यसपछिको घेरामा क्रमशः सशस्त्र र सेना रहनेछन्,’ नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले भने, ‘यसबाहेक सुरक्षा व्यवस्थामा थप सतर्कताका लागि सादा पोसाकका सुरक्षाकर्मी खटिनेछन् ।’ चार स्थानका लागि सुरक्षा व्यवस्था तय गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटेलसम्म, होटेलदेखि रंगशाला र खेलमैदानसम्म, होटेल र खेलमैदानमा पनि छुट्टै सुरक्षा व्यवस्था हुनेछ ।
