आजको पत्रपत्रिकामा राजनीतिक घटनाक्रम, मेडिकल कलेजसँग सम्बन्धित समाचार, उप निर्वाचन सँगै समसामयिक विषय प्राथमिकताका साथ प्रकाशित छन् ।
कान्तिपुर दैनिकले ‘छिन्नभिन्न’ चन्द समूह शिर्षकमा प्रमुख समाचार लेखेको छ । त्यस्तै मेडिकल कलेजले फिर्ता गरेनन् शुल्क कान्तिपुरमा समाचार छ । सरकारले दिएको १५ दिने म्याद सकिए पनि मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गरेका छैनन् । शिक्षा मन्त्रालयले कात्तिक २४ गते सूचना जारी गरेर १५ दिनभित्र बढी शुल्क फिर्ता वा समायोजन गर्न निर्देशन दिएको थियो । मन्त्रालयले तेस्रो पटक दिएको समयसीमा आइतबार सकिँदै छ । मन्त्रालयले यसअघि गत चैत र दशैअघि पनि शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो ।
अन्नपूर्ण पोस्टल उप निर्वाचन दलीय प्रतिष्ठाको लडाइँ शिर्षकमा प्रमुख समाचार लेखेको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुन लागेको उपचुनाव सत्तारुढ नेकपा प्रतिपक्षी कांग्रेसका लागि दलीय प्रतिष्ठाको विषय बनेको छ । दुवै दलका शीर्ष नेताले यहाँको चुनावलाई मिनी जनमतसंग्रहको संज्ञा दिइसकेका छन् ।
नागरिक दैनिकले सत्यनिरुपढ र वेपत्ता आयोग पदाधिकारी सिफारिसमा ‘राजनीतिक हस्तक्षेप’ शिर्षकमा प्रमुख समाचार लेखेको छ । समाचार अनुसार राष्ट्रिय मानवअधिकार आयोगले सत्यनिरुपढ तथा मेलमिलाप आयोग र वेपत्ता पारिएको व्यक्ति छानविन आयोगमा पदाधिकारी सिफारिस समितिलाई स्वतन्त्र र पारदर्शी ढंगले काम गर्न नदिइएको भन्दै समितिमा आयोगको तर्फबाट रहेको प्रतिनिधि फिर्ता बोलाउने तयारी गरेको छ । राजनीतिक हस्तक्षेपका कारण समितिलाई स्वतन्त्र रुपमा काम गर्न बाधा पुगेको समाचार सार्वजनिक हुँदै आएको छ ।
