कैलालीः
कैलाली जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीलाई अदालतले पक्राउ गर्न अनुमति दिएको छ। उनि विरुद्ध वैवाहिक जबरजस्ती करणी र भ्रूण हत्या गरेको उजुरी परेको थियो।
गिरीविरुद्ध वैवाहिक जबरजस्ती करणी र भ्रूण हत्या गरेको भन्दै उनकी कान्छी श्रीमती बताउने नेपालगञ्जकी सपना (नाम परिवर्तन) ले मुद्दा दर्ता गरेकी थिइन। सोही मुद्धा उपर कारवाही चलाउन आरोपित भुवन गिरीलाई पक्राउ गर्ने आदेश आएकोे जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
सपनाले गिरीले आफूमाथी जबरजस्ती करणी र भ्रूण हत्या गरी प्रजनन अधिकारबाट वञ्चित गराएको भन्दै मुद्दा दर्ता गरेको बस्नेतले जानकारी दिए। यसअघि सपनाले कुराकानीमा झण्डै दुई वर्ष अघि गिरीसंग सहमतिमै विवाह गरेपनि आफूमाथि जबरजस्ती करणी र भ्रूण हत्या गरी प्रजनन अधिकार हनन् गरेको बताएकी थिइन्।
तर जिल्ला अदालतका श्रेस्तेदार गिरीले भने सपनाले भने जस्तो जबरजस्ती करणी र भ्रुण हत्या गरेको कुरामा सत्यता नभएको प्रतिक्रिया दिएका थिए।
उनले आफूहरुबिच समान्य पारिवारिक बेमेल रहेपनि सपनाले भनेजस्तो नभएको बताउँदै आएका थिए। तर सपनाले भने गिरीले आफूमाथि जबरजस्ती करणी र कुटपिट जस्ता घरेलु हिंसा पनि गरेको बताउँदै आएका थिए। गिरीमाथी सुसाईड नोट लेखेर पेटमा भएको शिशु नफालेमा आत्महत्या गर्ने भन्दै जबरजस्ती भ्रूण हत्या गराएको आरोप समेत लागेको छ।
