सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरीमा सामुदायीक वनका अध्यक्षलाई काठ तस्करीको आरोप लागेको छ । गोदावरी नगरपालीका वडा नं। ११ मा रहेको ग्वासी समैजी सामुदायीक वनका अध्यक्ष लोक कुञ्जेडा लाई अवैध रुपमा काठ बिक्रि वितरण गरेको स्थानियले आरोप लगाएका हुन ।

वनका चौकीदार मोहन सिँ बडैलालाई काठ काट्न लगाएर केही उपभोक्ता र बाकी गोप्य रुपमा अन्यत्रै बिक्रि गरेको स्थानियले बताएका छन । सोही बन उपभोक्ता समितिकी सचिव मञ्जु बोहराले अध्यक्षले २ वटा काँचो रुख काटेको स्वीकार गरेको बताईन । उनका अनुसार काठ तस्करीको कार्य यही भाद्र महिनामा भएको थियो ।

सोही समयमा काठ काटेको सुईको पाउने बित्तिकै आफुले अध्यक्षसँग भेटघाट गरेको उनले बताईन । ‘काठ काटेको विषयमा अध्यक्षलाई सोध्दा ठुलाबडाले सोध्यो भने अध्यक्षलाई सोध्नु र सानातिनाले सोध्यो भने आफुलाई थाहा छैन भन्नु भनेका थिए’ उनले भनीन ‘यो विषयमा पछि समस्या आउन सक्छ, त्यसैले वडामा गएर वडाध्यक्षसँग सल्लाह लिऔ भनेर मैले भनेको हु ।’ पहिला वडाकार्यालयमा समितिका पदाधिकारी सहित बसौला भनेको तर पछि वडाध्यक्षलाई पत्र पठाएर आफुकहाँ बोलाउने कुरा गरेको उनले बताईन ।
वनको भवन निर्माणका लागी खातामा भएको रकम समेत अध्यक्षले झिकाउन खोजेको उनले आरोप लगाईन । उपभोक्तालाई बिक्रि वितरणको लागी २ वटा रुखहरु काटेको भनेपनि बनका अध्यक्षले ४ वटा सालका रुखहरु काटेको वडा नं। ११ का वडाध्यक्ष शिव बहादुुर बिकले बताए । ‘घटना यही भाद्र महिनामा भएको रहेछ’ उनले भने ‘बनका अध्यक्षको आफ्ना साथीहरुसँगको विवादमा काठ तस्करीको कुरा बाहिर आएको हो ।’ कुरा बाहिरिएसँगै बनका अध्यक्ष फरार रहेका छन ।

सोही विषयमा सब डिभिजन बन कार्यालय अत्तरियाका सहायक बन अधिकृत रामनारायण यादवलाई घुस खाएको आरोप लागेको छ । यादवले सोही बनका अध्यक्षसँग समन्वय गरी केश मिलाईदिने भन्दै घुस खाएको स्थानियहरुले आरोप लगाएका हुन ।सो सम्बन्धमा सहायक बन अधिकृत यादव सँग सोध्दा उनले आफुले घुस नखाएको दावी गरे ।
‘आजसम्म आफुले निष्ठावान तरिकाले काम गरेको छु’ उनले भने ‘कसैले कहिकतै घुस खाएको प्रमाणीत गरे जुत्ता खान तयार छु ।’ काठ तस्करीको बारेमा आफुलाई करिब एक हप्ता अगाडी जानकारी भएको हुदाँ बनमा के कति क्षति गरिएको छ त्यसको प्रमाण संकलनको क्रममा रहेकाले दोषीलाई बिना प्रमाण समात्न नसकिएको सहायक बन अधिकृत यादबले बताए ।
अत्तरिया सब डिभिजन बन कार्यालयबाट लगातार ओलानीमा कर्मचारी समेत खटाएको यादवको भनाई छ । तर स्थानियले उक्त बिषयमा जानकारी गराउदापनि बन कार्यालयले बेवास्ता गरेको आरोप लगाएका छन् ।
