योजना फरफारक र सम्पन्न भएपछि योजनाकै पैसाले भोज खाएको त सुनिदै आएको थियो तर लम्कीचुहा नगरपालिकाको वडा नं ६ मा भनेयोजनाको स्थल छनोट गर्दै योजनाकै पैसाले भोज खुवाईएको समाचार प्राप्त भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नं ६ चरैला जंगलमा पर्ने मिलन खोलामा बनभोजस्थल छनोटका लागि गएको टोलीले १४ हजारको खसी खाएर उपभोक्ता समिति गठन गरेको हो ।
१० लाख रुपैयाँको लागतमा बन्ने योजनाको स्थान छनौट गर्न वडाध्यक्ष नेत्र मगरले कात्तिक ३० गते शम्भुसुनन्दा आधारभूत विद्यालयको प्रांगणमा उपस्थित हुन २० जनालाई पत्राचार गर्नुभएको थियो । बोलाइएका सिमित व्यक्तिलाई विद्यालयबाट करीब २ घण्टाको बाटो हिडाएर भोज दिइएको र भोज खाँदै नरबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको पाइएको छ ।
२०७६ कार्तिक २६ गतेको चलानी नम्बर ९२८ को पत्रमा “आर्थिक बर्ष २०७६र०७७ स्वीकृत मिलन खोलामा पिकनिक स्पोट निमार्णको लागि स्थान छनौट गर्नुपर्ने भएको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि सादर अनुरोध छ” भनि वडा अध्यक्षको हस्ताक्षरबाट पत्र पठाइएको थियो । सिमित व्यक्तिलाई मात्र खबर गरेर मानव वस्तीभन्दा टाढा जंगलमा उपभोक्ता समिति गठन गर्नुले थप शंका पैदा गरेको स्थानीयको भनाई छ । स्थानीय भेषबहादुर बिष्टले प्रक्रिया पूरा नगरी जनतालाई झुक्याएर जङ्गलमा निर्माण उपभोक्ता समिति गठन गरिएको जनतालाई मान्य नहुने बताउनुभयो ।
पिकनिक निर्माणस्थल मिलन खोलामा पुगेका स्थानीय खेमराज न्यौपानेले वडाध्यक्ष मगरले माईन्युटमा उपस्थिति गर्न भनेको तर मासुभात खाइरहेका देखेर आफूले हस्ताक्षर नगरेको बताउनु भयो । त्यस्तै अर्का स्थानीय टंक जोशीले जंगलमा पिकनिकस्थल बनाउने भन्दा शिक्षा, स्वास्थ्यमा विनियोजन गरेको भए राम्रो हुने भन्दै पिकनिकस्थलको दीगोपना र यसबाट हुने फाइदाका बारेमा शंका व्यक्त गर्नुभयो । तिल्काका जुगराम चौधरीले पिकनिकस्थल निर्माण उपभोक्ता समिति गठन हुदा वडासचिबको उपस्थित नभएको र वडाका जनप्रिितनिधिले मात्रै उपभोक्ता समिति गठनको प्रकृया अगाडि बढाएको बताउनुभयो ।
वडासचिव लिलबहादुर खत्रीले आफूलाई जानकारी नदिई पिकनिक स्पोट छनौटको लागि पत्रचार गरिएको र प्रकृया नै पूरा नगरी पिकनिक स्थल निर्माण उपभोक्ता समिति गठन भएको खबर सुन्दा अचम्म लागेको बताउनुभयो ।
उपभोक्ता समिति गठन भोजमा सहभागी भएका हेमन्तबहादुर बुढाले आफूलाई वडाले नबोलाएपनि पार्टीका९नेकपा० साथीहरुले जानुपर्छ भनेपछि खाना खान दशरएघार बजे घर आई पुगिहालिन्छ भनेर गएको तर आधा बाटोमा पुगेपछि खसी समेत लगेको र खानाको पनि व्यवस्था भएको जानकारी पाएको बताउनुभयो ।
बाटोमा वडाध्यक्षले पत्राचार नगरिएको मान्छे पनि आएको भनेर सुनाउदा दुःख लागेको तर पछि काँग्रेसबाट उपभोक्ता समितिको अध्यक्ष र आफूलाई सचिव राखेको बताउनुभयो । सचिव राखेपनि उपभोक्ता समिति जंगलमा नभएर गाउमै गठन हुनुपर्ने बुढाको भनाई छ ।
स्थानीय भरत बिकले आफ्नो घरबाट १४ हजारमा खसी किनेर लगेको बताउनु भयो । आफूलाई निम्ता नभएपनि साथीहरुले जाउ भनेपछि गएको र आफू पुग्दा खसी काटीसकेको बताउनुभयो । कार्यक्रमस्थलमा भोजमा २० हजार खर्च भएको हिसाब सुनाइएको र सूचना एउटा दिएर काम अर्कै गर्ने प्रक्रिया सरासर गलत भएको बिक बताउनुहुन्छ ।
भोजमा भएको खर्च पिकनिक स्थल निर्माणको १० लाखबाट नभई वडा कार्यालयको बिबिध बजेटबाट खसी किनी खानपिनको व्यवस्था गरिएको वडा सदस्य प्रवल रोकायाले जानकारी दिनुभएको छ ।
लम्कीचुहा नगरपालिकाका वडा नंम्बर ६ का वडाध्यक्ष नेत्र मगरले समिति गठन पाँच जना गएर पनि गर्न सकिने तर प्रतिनिधिमूलक रुपमा बोलाइको र सबैलाई समेटेर समिति गठन भएको बताउनुभयो ।