धनगढी, २६ कात्तिक – निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको उपाधिका लागि आज लिटल फ्लावर स्कुल र हिमालयले ह्वाईट हाउस भिड्दै छन् । प्रतीयोगीतामा हिमालय ह्वाईट हाउसले टस जितेर लिटल फ्लावरलाई बलिङको निम्तो दिएको छ ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा सोमवार भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टीम उपाधिका लागि भिड्न लागेका हुन् ।
सेमीफाईनलमा लिटल फ्लावरले नोवेल एकेडेमीलाई ३ विकेट हराउदै फाईनल पुगेको थियो भने हिमालय ह्वाईट हाउसले शारदा विद्या निकेतनलाई २२ रनले पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरू मध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ ।
विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताए ।