प्रधानमन्त्री केपी शर्मा ओली भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक चलाएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले विदेश भएका बेला सोमबार पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भिडिओ कन्फेरेन्स मार्फत् मन्त्रिपरिषदको बैठक बस्दै गरेको फोटो पोस्ट गरेका छन्। प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन सापकोटाले पनि फोटो पोस्ट गर्दै प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकमा सरिक रहेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री सिंगापुर जानुअघि मन्त्रिपरिषद् बैठकले भिडिओ कन्फेरेन्समार्फत् पनि मन्त्रिपरिषद् बैठक डाक्न सकिने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै प्रविधि र प्राविधिकलाई धन्यवाद दिएका छन्। ‘मन्त्रिपरिषद्का सबै सहभागी र सचिवालयका सहयोगीलाई धन्यवाद’, ओलीले ट्वीट गरेका छन्।
तस्बिरहरू : चेतन अधिकारी र विष्णु रिमालको ट्वीटरबाट।