सुदूरपश्चिम प्रदेशको सुनौलो भविष्यसंग जोडिएको गेटा मेडिकल कलेज सञ्चालनको लागि गृहकार्य थालिएको छ । सकेसम्म चाँडै मेडिकल सञ्चालन गर्ने लक्ष्यका साथ गृहकार्य थालिएको हो । हालसम्म निर्माणाधीन अवस्थामा रहेको मेडिकल कलेजमा आर्थिक वर्ष २०७७÷०७८ देखि पढाइ सञ्चालन गर्ने लक्ष्य छ । मेडिकल कलेजको न्यूनतम् पूर्वाधार र आवश्यक संरचना चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने भएकाले मेडिकल कलेज सञ्चालनको गृहकार्य पनि सुरु गरिएको गेंटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले जनाएको छ ।
मेडिकल कलेज सञ्चालनका लागि सम्बन्धित मन्त्रालयले ‘मोडालिटी’ बनाउने कार्य गरिरहेको समितिका निर्देशक भीमबहादुर साउँदले जानकारी दिनुभयो । अहिलेसम्म मेडिकल कलेज सञ्चालन गर्नका लागि कानूनी जटिलता छ । कानून बनेमा सकेसम्म चाँडै मेडिकल कलेज सञ्चालनमा आउने बताईएको छ । सम्भवतः हिउँदे अधिवेशनमा संघीय सरकारले कानून बनाउने साउँदले बताउनुभयो । आवश्यक उपकरण सहित भौतिक न्यूनतम् पूर्वाधारको काम भौतिक रुपमा एक वर्षभित्रै सक्ने लक्ष्य रहेको साउँदको भनाइ छ । आवश्यक संरचना निर्माणको काम सम्भवतः छ महिनाभित्रै पूरा हुने बताउनुभयो । समितिले तीन महिनापछि कलेज भवन हस्तान्तरणको तयारी पनि गरिरहेको छ । गेंटा मेडिकल कलेजमा हालसम्म साना ठूला गरी २७ वटा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । कलेज, अस्पताल र होस्टेल भवन लगायतका मुख्य–मुख्य संरचनाको निर्माण कार्य अन्तिमतिर पुगेको छ । यी संरचनाहरुलाई यसै वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको समितिल जनाएको छ ।
समितिका इञ्जिनीयर पवन रावलका अनुसार कलेज भवनको निर्माण कार्य हालसम्म ८० प्रतिशत पूरा भएको छ । भवनको भित्री भागमा ‘फिनीसिङ’ भइरहेको छ । झ्याल, ढोका लगाउने र छेउछाउमा ट्रेन्च बनाउने काम बाँकी रहेको छ । यसैगरी, पहिलो प्याकेज अन्तर्गत निर्माण भइरहेको अस्पतालको तल्लो भवनको निर्माण कार्य ६० प्रतिशत पूरा भएको छ । त्यसैमाथि बनिरहेको दोस्रो प्याकेज अन्तर्गतको दोस्रो अस्पताल भवनको निर्माण कार्य लगभग ४५ प्रतिशत सकिएको छ । तीन÷तीन सय गरी दुवै अस्पताल भवन ६०० शैयाको रहेको छ ।
दुई ठूलो होस्टेलको निर्माण कार्य ६० प्रतिशत पुगेको र अर्को सानो होस्टेलको निर्माणको काम १५ प्रतिशत रहेको इञ्जिनीयर रावलले जानकारी दिनुभयो । होस्टेलको निर्माण अवधि अझै एक वर्ष बाँकी रहेको छ ।
यसैगरी, डाक्टर र कर्मचारी आवास भवनको निर्माण कार्य ४६ प्रतिशत पूरा भएको छ । आवास भवनको निर्माण अवधि अझै एक वर्ष दुई महिना बाँकी रहेको छ । प्रशासनिक भवनको निर्माण कार्य भने सन्तोषजनक छैन । सबैभन्दा पहिले ठेक्का भएको प्रशासनिक भवनको निर्माण कार्य अत्यन्त सुस्त रहेको इञ्जिनीयर रावलले जानकारी दिनुभयो । एक वर्ष पाँच महिनामात्रै निर्माण अवधि रहेको प्रशासनिक भवन निर्माणको लागि तीन पटक म्याद थप भइसकेको छ ।
केहि वर्षसम्म रुख कटानको लागि वनले आदेश नदिंदा र जग्गा स्वामित्वको विवादले गेंटा मेडिकल कलेज निर्माणको कार्यमा ढिलाइ भएको थियो । वनबाट अब अवरोध नरहे पनि केही मुक्त कमैया परिवार जग्गा कब्जा गरेर बसेको जनाइएको छ । चार÷पाँच परिवार मुक्त कमैया भएकाले मेडिकल कलेजको कलेज भवनको जग्गा भोगाधिकार प्राप्त गर्न समस्या भइरहेको इञ्जिनीयर रावलले बताउनुभयो । आर्थिक वर्ष २०८०÷०८१ सम्म गेंटा मेडिकल कलेजको आवश्यक सम्पूर्ण पूर्वाधार तयार हुने गुरुयोजना बनाइएको छ । हालसम्म मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार मात्रै निर्माण भइरहेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०६६÷०६७ मा मेडिकल कलेज निर्माणको घोषणा गरेको थियो । तर, निर्माण कार्य भने ढिला गरी सुरु भएको थियो । गेंटा मेडिकल कलेज निर्माणमा हालसम्म साढे तीन अर्ब रुपैयाँ खर्च भएको छ । साना–ठूला गरी विभिन्न २७ वटा संरचना निर्माण भइरहेको मेडिकल कलेजको तयार पार्न सात अर्ब रुपैयाँ खर्च हुने रावलले बताउनुभयो ।