बझाङको छविस पाथिभेरा गाउँपालिकाले उपाध्यक्षसंग सुत्केरी महिला कार्यक्रममार्फत ४५ दिन भित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक करेट अण्डा र दुई केजी दाल वितरण गरेको छ । पोषणको हिसाबले जोखिमयुक्त मानिएको स्थानीय तहमा छविस पाथिभेरा गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम सञ्चालन गरी पौष्टिक आहार वितरण गर्न थाललेको हो ।
सुत्केरी महिलाको पोषणमा सुधार ल्याउन र महिलाको खानपानको शैली परिर्वतन गर्नका लागि यो कार्यक्रम सञ्चालन गरेको गाउ“पालिका की उपाध्यक्ष राधिका कुमारी रताला जोशीले बताइन् । गाउँमा प्रसस्त सिचाईको सुविधा र जग्गा जमिन हुँदा पनि यहाँका सुत्केरी महिलाले पोषणयुत खाना खाने गरेका छैनन् । महिलाको पोषण अवस्था नाजुक बन्दै गएकोले उपाध्यक्षस“ग सुत्केरी महिला कार्यक्रम अभियान थालिएको उपाध्यक्ष जोशीले बताइन् ।
उनले भनिन्, ‘हामी स“ग भएको चिजलाई उपयोग गर्न नजानेका कारण समस्यामा छौ । समय समयमा माछा मासु र मौसम अनुसारको तरकारी घरमै फलाएर खान नजानेका कारण कुपोषित भएका हौ । यो अभियान कुपोषणका विरुद्धको हो’, उनले भनिन् । गाउँपालिकाका प्राय सबै जसो मानिसहरु किसान भएर पनि परमम्परागत ढंगले खेतीपाती गर्ने भएका कारण आर्थिक अवस्था सुधार हुन सकेको छैन । यस्तो अवस्थामा सुत्केरी महिलामा पोषणयुत खाना आवश्यक मात्रामा प्राप्त गर्न नसकेको जनाइएको छ ।
गाउँपालिकाले घ्यू, अण्डा, दाल खरिद तथा वितरण गर्नका लागि एक लाख २९ हजार बजेट विनियोजन गरिएको उनको भनाइ छ । ‘सानै रकम भए पनि यसले गाउँपालिकाका सबै सुत्केरी महिलाको स्वास्थ्यमा ठूलो परिर्वतन ल्याउने हामीले अपेक्षा गरेका छौं’ उनले भनिन्–‘हामी भौगोलिक रुपमा विकट त छदैछौ । जनचेतनाका हिसाबले पनि पछाडि भएका कारण भएको स्रोतको उपयोग गर्न सकेका छैनौ । यो कार्यक्रमले धेरै सहयोग पुग्नेछ ।’ यस कार्यक्रममार्फत ५६ सुत्केरी महिलालाई प्रोत्साहन स्वरुप घ्यू ,अण्डा र दाल गरिएको जनाइएको छ ।