साउन ३२ गते राति परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी सडक पुनः सुचारु भएको छ । साँफे–मार्तडी सडकखण्ड अन्र्तगत पर्ने थुवाकाँधमा सडक माथिबाट पहिरो संगै ढलेको सल्लाको रुखलाई पन्छ्याएपछि सडक नियमित सुचारु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटको नेतृत्वमा पहिरो संगै सडक अवरुद्ध हुने गरी खसेको रुखलाई सडकबाट हटाइएको हो ।
आईतवार विहाना प्रमुख भाट सहित १५ जना प्रहरी र स्थानीयको समेत सक्रियतामा पहिरो र रुख हटाई यातायात सेवा नियमित सुचारु गरिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
वैकल्पीक मार्ग निर्माण सुरु
साँफे–मार्तडी सडकको द्धवारी क्षेत्रमा वैकल्पिक मार्ग निर्माणको काम थालिएको छ । पहिरोले भत्किएको क्षेत्रलाई केन्द्रीत गरी स्थानीयसँग सहमति गरेर नयाँ मार्ग निर्माणको काम सोमबार बिहानबाट सुरु गरिएको हो ।
पहिरोले भत्कीएको करिब एक सय मिटर क्षेत्रलाई जोगाएर त्यसैको माथिबाट बाटो निर्माण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् । सडक माथि पट्टी परेको टिकाराम पाध्यायको घर भत्काएर सोही घरलाई नै नयाँ मार्ग निर्धारण गर्न लागिएको हो ।
तत्कालका लागि अर्का बैकल्पीक मार्ग पहिचान नगरिएसम्म यातायात सेवा सञ्चालनका लागि घरबाटै रुप पर्ने गरि निर्माण थालिएको हो । सडक डिभिजन कार्यालय साँफेबगरको डोजर लगाएर बाटो निर्माण थालिएको छ ।
भोलिसम्म बाटो सञ्चालन गर्ने गरी काम थालिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । बुढीगंगा नगरपालिका–१ अम्कोट क्षेत्र नजिकै पर्ने द्धवारीमा गएको पहिराले सडकमा क्षति पुर्याएर यातायात सेवा नै बन्द भएको र मर्मत मात्र गरिए वर्षेनी समस्या आउने हुँदा दीगो समाधानका लागि सडक डिभिजन कार्यालयलाई नयाँ रुट एकीन गर्न अनुरोध गर्ने जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेको छ ।
नयाँ मार्ग निर्माणमा क्षति हुने घर तथा जमिन र अन्न बालीको मूल्याकंन गरी नेपाल सरकारको नियम अनुसारको मुआब्जा दिने पनि बैठकले निर्णय गरिसकेकोले त्यसै अनुरुप क्षतिपूर्ति दिने तयारी गरिएको छ ।
