प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएकाले युरोपको आकाश माथिको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् ।
काठमाडौँमा सोमबारबाट सुरु भएको अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन कार्यक्रममा ओलीले बिगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको बताए ।
प्रधानमन्त्री ओलीले ठ्याक्कै त्यहि शब्दमा प्रतिबन्ध हटाउन नभने पनि नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकाशले असुरक्षा हटेको बताएका हुन् ।
नेपालले हवाई सुरक्षाका बाँकी कामहरुमा क्रमसः सुधार गर्दै गएको उनले बताए । नेपालले सुखी नेपाली र समृद्ध नेपालको नारा लक्ष्य हासिल गर्न पर्यटनलाई प्रमुख अंगको रुपमा लिएको स्पस्ट पर्दै प्रधानमन्त्री ओलीले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महत्व रहेको बताए ।
नेपालको पर्यटन क्षेत्रको विकासको लागि कनेक्टिभिटी आवश्यक रहेको उनको भनाई छ। आफ्नो मन्तव्यको क्रममा प्रधानमन्त्री ओलीले काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको बताए ।
साथै थप दुई नयाँ अन्तराष्ट्रिय विमानस्थल पनि निर्माण भैरहेको बताए । प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनैतिक अवस्था र सरकारले लिएको लक्ष्य स्पस्ट भएको हुँदा विकाशमा लगानीको लागि अनुकुल समय रहेको बताए ।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा साथ दिन सबैलाई आग्रह गरे । आजबाट सुरु भएको सम्मेलन पाँच दिन सम्म चल्ने छ । यो सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेका छन् ।