धनगढी, १७ साउन- साउन र भदौमा स्क्रब टाइफसका धेरै बिरामी देखिएको चिकित्सकहरुले बताएका छन् । कम आयस्रोत भएका देशहरुमा पछिल्लो समय स्क्रब टाइफसको जोखिम बढी देखिने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.शेरबहादुर पुनले बताउनुभयो .
स्क्रब टाइफसको समयमा उपचार नगर्दा संक्रमण बढ्दै गएर मुटु, कलेजो, मिर्गाैलामासमेत गम्भीर असर देखिने गरेको छ । यो रोगको संक्रमण भएको करिब पाँचदेखि सात दिनसम्म लक्षण देखिन थाल्छन । त्यसैगरी स्क्रब टाइफस माइट नामको संक्रमित किर्नाले टोक्दा यो रोग मानिसमा सर्छ । विशेषगरी खेतबारीमा काम गर्ने मानिसमा यो रोगको सम्भावना पबवल रहने डा. पुनले बताउनुभयो ।
“शरीरमा एलर्जी जस्तो बिबिरा देखिएमा, टाउको दुख्ने, खाना अपज हुने, वान्ता हुने र श्वास फेर्न गाह्रो हुने आदि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा बिरामीको रगत परीक्षण गराउनुपर्छ,” उहाले भन्नभुयो, “यस रोगबाट बच्न संक्रमित किर्नाको टोकाइबाट बच्नु नै मुख्य उपाय हो ।”
लक्षण
टाउको दुख्नु ।
शरीर आलस्य हुनु ।
एक्कासी ज्वरो आउनु ।
शरीरमा एलर्जी जस्तो बिबिरा देखिनु ।
खोकी लाग्नु ।
खाना अपज हुनु ।
वान्ता हुने ।
श्वास फेर्न गाह्रो हुने ।
बच्ने उपाय
खेतबारीमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउने ।
(खुट्टामा बुट, हातमा पन्जा र टाउको ढाक्ने कपडा लगाउने )
भुइँमा बस्दा केही ओछ्याएर मात्र बस्ने ।
घर वरपर सफा राख्ने ।
माथिका कुनै पनि लक्ष्ण देखिएमा तुरुन्त स्वास्थ्य परिक्षण गर्ने ।