धनगढी, १६ साउन- कैलालीको जानकी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र प्राधानाध्यापकले शैक्षिक भ्रमणका लागि छुट्याइएको बजेटको चरम दुरुपयोग गरेका छन् । शैक्षिक भ्रमणका लागि छुटयाइएको रकमको दुरुपयोग गर्दै उनीहरु भारतका विभिन्न शहर घुमेर मोजमस्ती गरेका हुन् । गाउँपालिकाबाट नेपालकै विभिन्न स्थानमा शैक्षिक भ्रमण गर्न दिईएको अनुमति र शर्त नमानी उनीहरु शैक्षिक भ्रमणका लागि छुट्याइएको चार लाख रकम खर्च गर्न भारत गएका हुन् ।
प्राधानाध्यापकहरुकै आग्रहमा कैलालीको जानकी गाउँपालिकाले शैक्षिक भ्रमणका लागि गएको आर्थिक वर्ष चार लाख रकम छुटयाएको थियो । यसको उद्देश्य प्रदेशमा रहेका नूमना विद्यालयको अवलोकन गर्ने र त्यसको सिकाइ हासिल गर्ने रहेको थियो । तर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सरकारी र निजी विद्ययालयका प्राधानाध्यापकले त्यसको दुरुपयोग गरी भारतका विभिन्न शहर घुमेर मोजमस्ती गरेका हुन् । उनीहरु साउन ८ गतेदेखि भारतको नयाँदिल्ली, देहरादुन, आग्रा, नैनिताल, हरिद्वार लगायतका विभिन्न स्थान घुमेर कम खर्च गरेका छन् । गाउँपालिकाको कार्यालयका शिक्षा शाखा प्रमुख कलमबहादुर खड्का र वडा नम्वर ७ का अध्यक्ष लक्ष्मण चौधरीको नेतृत्वमा प्राधानाध्यापकहरु भारत घुम्न गएका हुन् । गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीले जुन उद्देश्यले रकम छुटयाइएको हो, त्यस अनुरुप खर्च गर्न आग्रह गर्दा पनि उनीहरुले नटेरेको गुनासो गर्नुभयो ।
गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र प्राधानाध्यापकले सरकारी रकमको दुरुपयोग गरेको भन्दै स्थानीय अविभावक समेत रुष्ट भएका छन् । उनीहरुले नितिगत भ्रष्टाचार गरेको भन्दै यसको छानविन गरी रकम दुरुपयोग गर्नेलाई कारबाही माग गरेका छन् । सामुदायिक विद्यालयमा शिक्षाको अवस्था दिनानुदिन खस्कदो छ । सामुदायिक विद्यालयकोे शिक्षा सुधारका लागि राखिएको देशभित्रै गर्ने भनिएको शैक्षिक भ्रमणको रकम दुरुपयोग गरी विदेशतिर घुमघाम र मोजमस्ती गर्नेहरुमाथि कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।