महेन्द्रननगर, १७ जेठ/ महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयमा सञ्चालन गरिएको दुई दिन स्वास्थ्य शिविरमा झण्डै सात सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । भीमदत्त नगरपालिकाले बिहीबारदेखि बैजनाथमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा ६ सय ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको भीनपा स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
शिविरमा सबैभन्दा बढी छाला २ सय २६ जना छाला सम्बन्धी समस्याको परीक्षण गरिएको छ । यसै गरी नाक, कान, घाँटीका २ सय ७, स्त्री रोगका ७० जना सहितको स्वास्थ्य परीक्षण गरिएको छ ।
नगर वासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सञ्चालन गरिएको हो । शिविरमा जाँच गरिएकामध्ये ५० जनालाई नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले आागमी दिनमा स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने बताए ।
‘नगर वासीले सहज रुपमा स्वास्थ्य सेवा दिनका लागि यस्ता शिविर आयोजनालाई निरन्तरता दिन्छौ’ उनले भने ।
स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले गत वर्ष सबै वडामा एकीकृत जनस्वास्थ्य अभियान सहित विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेका थिए । ती कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । गत वर्ष दुर्गम वस्ती खल्ला मुसेट्टीमा पहिलो पटक विशेषज्ञ शिविर आयोजना गरिएको थियो ।
शिविरमा सेवा लिएका सेवाग्राही शिविरबाट खुशी भएको बताए । उनीहरुले घरमा सेवा पाउँदा समय र खर्च दुबै बचत भएको बताए । शिविरमा स्वास्थ्य जाँच गराएकी पार्वती जोशीले शिविरबाट सबैलाई फाइदा भएको बताइन् ।
‘कम्मरको पहिला देखि नै दुखाई थियो चेकजाँच गरेर औषधि दिएका छन ठिक नभएमा फेरि उपचार गराउनु भनेका छन्’ उनले भनिन् ।
शिविरमा इएनटी डा। सुलभ श्रेष्ठ, छाला तथा यौन रोग डा। सुमित पाण्डेय, स्त्री रोग डा। सृष्टि जोशी र मधुमेह तथा जनरल फिजिसियन डा। प्रवेश पन्त स्वास्थ्य जाँच गरेका छन् । बिहीबार शिविर उद्घाटन समारोहमा सहभागी नगर प्रमुख विष्टले शुक्रबार पनि शिविरको निरीक्षण गरे ।
