कैलाली र अछाम जिल्लामा छाउ गोठ भत्काउने अभियान जारी राखिएको छ। पुस ९ गतेदेखि सुरु भएको अभियान जारी राखिएको हो। अभियान अन्तरगत अहिले सम्म अछाम जिल्लामा मात्रै एक हजार तीन सय १० वटा छाउ गोठ भत्काईएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाउ गोठ भत्काउन अभियान जारी राखिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए। जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुबाट छाउपडी प्रथा न्युनिकरण गर्न “छाउपडी गोठ भत्काउने अभियान” थालिएको उनले बताए।
प्रहरी, स्थानिय निकायका जनप्रतिनिधी, समाजसेवी, महिला, पत्रकार, महिला समुह, आमा समुहहरुको सहभागितामा उक्त अभियान थालिएको उनले बताए। जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको साफेवगर नगरपालिकामा सबैभन्दा बढि तीन सय ३३ वटा छाउगोठ भत्काईएको छ।
यस्तै तुर्माखाद गाउँपालिकामा तीन सय १०, ढकारी गाउँपालिकामा दुई सय ५९, मेल्लेख गाउँपालिकामा एक सय २५, पञ्चदेवल विनायक नगरपालिकामा एक सय १३, रामारोशन गाउँपालिकामा ७३, चौरपाटी गाउँपालिकामा ६५ र कमलबजार नगरपालिकामा ३५ छाउ गोठ भत्काईएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
छाउपडी सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्नुका साथै छाउपडी सम्बन्धी कानुनी प्रावधान बारे जानकारी समेत गराईएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। पछिल्लो एक दशकमा अछाममा १५ जना र बाजुरामा ३ जनाको छाउगोठमा मृत्यु भईसकेको छ। महिनावारी हुँदा घरमा बस्नु हुदैन भन्ने रुढिवादी मान्यता कायमै भएपछि छाउगोठमा ज्यान गुमाउनेको सङख्या बढ्दै गएको हो।
अधिकांश घटनामा निसास्सिएर, सर्पले टोकेर र आगोमा जलेर महिला र युवतीहरुले ज्यान गुमाएका छन्। छाउपडी गोठमा ज्यान गुमाउने महिलाको संख्या जति बाहिर आएको छ त्यो भन्दा धेरै ज्यान गएको हुन सक्ने महिला अधिकारकर्मीहरुको दावी छ। सर्वोच्च अदालतले २०६२ सालमा बैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा समेत गरेको थियो। सरकारले छाउपडी प्रथा उन्मुलन सम्बन्धि निर्देशिका २०६४ समेत जारी गरेको थियो।
छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञा सहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको थियो। स्थानिय निकायको संयोजकत्वमा गाँउदेखि छाउपडी प्रथा सम्बन्धि उन्मुलन कार्यक्रम गर्नु पर्ने भएपनि गाँउमा भने अहिले सम्म कुनै कार्यक्रम गरेको पाईदैन्।
यस्तै कैलालीमा एक सय १५ वटा छाउगोठ भत्काइएका छन्। जिल्लाको गोदावरी नगरपालीकाको वडा नम्बर १० र १२ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरी र समाजिक अभियन्ता लगायतको सहभागितामा छाउगोठ भत्काइएका हुन्।
नगरपालीकाको वडा नम्बर १० सिउडी कटान, स्वार कटान, सितापुर र भागेश्वर क्षेत्रहरुमा निर्माण गरिएका ४६ ओटा र वडा नम्बर १२ को कोल्मुडा, कटान लगायतका क्षेत्रमा निर्माणगरिएका ६९ ओटा छाउगोठहरु भत्काईएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर बिष्टले बताए। जनप्रतिनिधि, स्थानीय क्लबहरु, अगुवा महिला, संघसंस्थाका प्रतिनिधि, विद्यालयका छात्रछात्राहरु लगायतको सहभागितामा गोठहरु भत्कार्ईएको उनले बताए।