धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘बी’ गाउँका ३७ वर्षीय कमल घर्तिमगर २०६५ देखि व्यावसायिक च्याउ खेती गर्न थाले । क्रमिक रुपमा च्याउ बढाउँदै गए । २०७१ सालमा २० लाखको लगानीमा कमलले जुगेडामै ओम केदार च्याउ तथा तरकारी फर्म सञ्चालनमा ल्याए । लगानी बढाउँदै उनले २०७३ सालमा एसियाली विकास बैंकको सहयोग रहेको साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजना (रिज्म एफपी) र आफ्नो गरी १ करोड ८ लाख पुर्याए । यति मात्रै होइन, आफ्नो लगानीलाई थप बढाएको बताउने उनी हालसम्मको लगानी २ करोड २० लाख पुगेको बताउँछन् ।

‘नेपालमा हालसम्म भारत र चीनबाट क्यानिङ गरिएको ग्रोबे च्याउ आयात हुँदै आएको छ । हालसम्म हाम्रो यहाँ बाहेक मुलुकको अन्य ठाउँमा च्याउको क्यानिङ र पाउडर बनाउने प्रविधि छैन । जुन कारणले हाम्रो प्रतिस्पर्धा भारत र चाइनासँग मात्रै हो,’ उनी भन्छन् ।
उद्योगको प्रतिघण्टा साढे २ क्वीन्टल च्याउ सुकाउने र प्रतिघण्टा ५ क्वीन्टल गोब्रे च्याउ क्यानिङ गर्न सक्ने क्षमता रहेको बताइएको छ । २ विघा क्षेत्रफलमा फैलिएको उद्योगले चालू वर्ष ५० टन च्याउ उत्पादन तथा प्रशोधन गर्ने लक्ष्य लिएको छ ।

गत वर्ष २० टल उत्पादन भएको बताइएको छ । फर्मका व्यवस्थापक राजु पुनमगरले चालू वर्ष १० हजार बलबाट कन्ये च्याउ र १ सय १० टन कम्पोस्ट मलबाट गोब्रे गरी जम्मा ५० टन च्याउ उत्पादन गर्ने लक्ष्य लिएको जनाए । च्याउको बजार पनि अति नै राम्रो रहेको बताइएको छ । पछिल्लो समय च्याउ मानव स्वास्थ्यको लागि लाभदायिक रहेको चेतना सर्वसाधारणमा समेत जाग्दै जान थालेपछि बजार पनि बढ्दै गएको कमल बताउँछन् । उत्पादित च्याउ धनगढी, अत्तरिया, पुर्नवास, बैतडी, डडेल्धुरा, नेपालगञ्ज लगायत ठाउँमा समेत आपूर्ति हुँदै आएको जनाइएको छ ।
