गणतन्त्र दिवस, इतिहासमा राख्नकै लागि भए पनि नेपाली राजनीतिमा आमूल परिवर्तन आएको दिन ; कसैले सर्वस्व गुमाएको , कसैले सर्वस्व पाएको दिन ; कसैको महत्वपूर्ण, कसैको कालो दिन आज त्यही दिन जेठ १५ हो । अर्थात्, नेपाली राजनीतिको नयाँ अध्याय सुरु भएको दिन , लामो समयसम्म चलेको शासन व्यवस्था फेरेको दिन साच्चिकै आज त्यहीँ गणतन्त्र दिवस हो ।
नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाक पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल हो । कसैको पेवा हैन, नकसैको एकल सफलता हो । सबैको नहोला तर अधिकांशको यो महत्वपूर्ण दिनमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
घाइते तथा अपाङ्ग हुनुभएकाहरु, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । नेपाल आमाका हज्जारौं होनहार छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्बोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य हो ।
हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर राजनीतिक अस्थिरताले आक्रान्त छौं । यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको छ । संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने छ ।
गणतन्त्र रक्षार्थ जुटेर ,मिलेर , उठेर जाउँ, अब व्यवस्था हैन अवस्था फेर्नतिर लागौँ । यो शुभ अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस्, सम्पूर्ण नेपालीहरुमा १७ औं गणतन्त्र दिवसको यो क्षणमा हार्दिक बधाई एवं शुभकामना !
लेखक : लवदेव धामी/धनगढी