यमुना साउद ,धनगढी,४ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५का किसानहरु तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । तराई भू परिधि (ताल)र त्रिशक्ति उपभोक्ता समितिले ‘ कृषि योजना कार्यक्रम अन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ । कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर र व्यावसायिक बन्न थालेका छन् । किसानहरू कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका हुन् ।
उनीहरूले उत्पादन गरेका तरकारीले उचित मूल्यसहितको बजार पाएको भएपनी सिचाई र कृषि प्राविधिकको अभाव भएको किसानहरूले गुनासो गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ बन समिति चौधरी टोलकी रम्ली चौधरीले व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । पहिले आफ्नो गुजाराको लागि मात्र तरकारी खेती गर्ने गरेको भएपनी अहिले व्यावसायिक रूपमा गरिरहेको बत्ताइन् ।
तरकारी खेतीबाट हुने आम्दानीले चौधरी परिवारको खर्च चल्ने गरेको छ । उहाँले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ । परिवारको घर खर्चसँगै बालबालिकाको विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट धानिँदै आएको उहाँ बत्ताइन् । यती मात्र नभएर बचेको पैसा बचत पनि गर्नुहुन्छ ।
उहाँले भन्नुभयो, “तरकारी उत्पादन राम्रै गरेका छौँ, आम्दानी ठिकै छ , उत्पादन भएको तरकारी आफै बजारमा लगेर बेच्छौ ”, उहाँले भन्नुभयो, “ दैनिक ८/९सयको तरकारी बेच्छौ । खुसी छौ ,घर खर्च चलिरहेको छ , तरकारी बेचेर दुई वर्षमा २ लाख जम्मा गरेको छु ,सिचाई समस्या छ , मोटरबाट सिचाइ गर्छौ , मोटरबाट सिचाइ गर्दा जमिन छिटै सुक्छ ।”
उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ । पहिला मौसमी तरकारी मात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन । मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि आम्दानी सोचेभन्दा बढी नै हुने गरेको रम्लीले बत्ताइन् । तराई भुपरिधीले तालिम र कृषि उपकरण सहयोग गरे पछि बेमौसमी तरकारी खेती गर्न सुरु गरेको उनले बत्ताइन् ।“पहिले त मौसमी तरकारी खेती मात्र गर्थ्यौ , अहिले बेमौसमी तरकारी खेती पनि सुरु गरेका छौ , ।”
यस्तै विगत २ वर्षदेखि आधुनिक तरकारी खेती गर्नुभएकी कोशिका चौधरीले पनि बारीमा बोडी ,काउली , टमाटर ,फर्सी ,कोक्रा भिन्टी लगायत तरकारी उत्पादन गर्दै आउनुभएकी छिन् । “तरकारी जन्य वस्तुको उत्पादन गर्छु, घरपरिवार सबै यही पेसामा छौँ, आम्दानी राम्रै छ,” उहाँले भन्नुभयो, “तर उत्पादित तरकारी बजारसम्म पु¥याउन समस्या छ,घर दैलो कार्यक्रम गरेर बेच्छौ ।”
रम्ली र कोशिका लगायत व्यक्तिहरू तरकारी खेतीमै व्यस्त छन् । गोडमेल, मलजल र रेखदेख नै उनीहरूको दैनिकी बनेको छ । रम्ली र कोशिका मात्रै होइन शुक्लाफाँटा नगरपालिका ५ बन समिति चौधरी टोलका अनिता चौधरी,गीता चौधरी लगायत व्यक्ति गाउँमै व्यावसायिक तरकारी खेतीमा लागिपरेका छन् । उजाड र उराठलाग्दो टोल हराभरा भएको छ । तरकारी खेती गरेर उनीहरूले मनग्य आम्दानी गर्दै आएका छन् । यति मात्र नभएर महिलाले पनि केही गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् ।
उक्त समूहलाई तराई भुपरिधी संस्थाले प्रत्येक घर परिवारलाई टनेल, बिउ बिजन र तालिम दिई सहयोग गर्दै आएको त्रिशक्ति उपभोक्ता समितिका अध्यक्ष दमन चन्दले बताए । त्रिशक्ति उपभोक्ता समितिमा १६ जना किसान आबद्ध छन् । उनीहरूलाई तराई भुपरिधी संस्थाले अनुदान दिएको छ । समूहमा आबद्ध हरेक किसानले २ देखि ३ कट्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आएको चन्दले बताए ।
