बाजुराको कर्णाली नदीमा जीप खस्दा ज्यान गुमाएका ४ मध्ये तीन जनाको सनाखत भएको छ । जीप मालिकसमेत रहेका चालक बाजुरा जगन्नाथ गाउँपालिका–५ का २७ वर्षीय रमेश वहादुर शाही, हिमाली गाउँपालिका–६ का ३६ वर्षीय पवन भण्डारी र कैलाली मोहन्या गाउँपालिका–५ का ३३ वर्षीय दिनेश कुमार घर्तीमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटका अनुसार मृतकमध्ये एक जनाको सनाखत हुन सकेको छैन भने बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका–४ वाई बस्ने १३ वर्षीया सुशिला विक वेपत्ता छिन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक भाटले बताए ।
दुर्घटनामा ४ जना घाईते भएका छन् । मुगुका २० वर्षीय गोम्चो लामा, सोही ठाउँका २१ बर्षीय टोर्चे लामा, बाजुरा बुढिनन्दा–६ की २२ वर्षीया सरु विक र उनकी २ वर्षकी छोरी घाईते भएकी छिन् ।
उनीहरु मध्ये टोर्चे र सरुको अवस्था गम्भिर रहेको र सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लैजाने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक भाटले बताए । प्रतिकुल मौसमका कारण उनीहरुलाई अन्यत्र लैजान समस्या भइरहेको उनले बताए । घाइते ४ जनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र काल्टीमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार से १ ज १०६४ नम्बरको जीप बिहीबार दिउँसो कर्णाली नदीमा खसेपछि चार जनाको मृत्यु भएको थियो ।