कञ्चनपुर,
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष विरुद्ध आरोपपत्र दायर गरेको छ ।
बुधबार आयोगले महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर विष्टविरुद्ध कक्षा १० को नक्कली प्रमाणपत्र बुझाएको भन्दै काठमाडौंस्थित विषेश अदालतमा आरोप पत्र दायर गरेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अध्यक्ष पदमा बहाल रहेको सूचनाका आधारमा आयोगले अनुसन्धान थालेको थियो । अन्सन्धानमा विष्टले भारतको गुरुकुल विश्वविद्यालय, बृन्दावन मथुरा उत्तरप्रदेशबाट माध्यमिक शिक्षा कक्षा १० उत्तिर्ण गरेको झुठ्ठा र नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाएको हो ।
उनले सो प्रमाणपत्र पेश गरी नगर विकास समितिको अध्यक्ष पदमा बहाल रही लाभ र सुविधा लिएको पुष्टी हुन आएको आयोगको दावी छ । आयोगले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय दिन माग समेत गरेको छ । 