डडेल्धुरा, १४ पौष– जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जिल्लामा भएका छाउगोठ हटाउन उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालयले उर्दी जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै जिल्लाका कुनै पनि स्थानमा छाउगोठ नराख्न आग्रह गरेको छ । जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लाका ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने तथा गोठ रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रशासनले छाउगोठ भत्काउन सबै स्थानीय तहलाई पत्राचारसमेत गरेको छ। गृह मन्त्रालयले डडेल्धुरालगायत समग्र सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेका छाउगोठलाई भत्काउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि जिल्ला प्रशासनले छाउगोठ राख्ने तथा छाउगोठमा बस्न बाध्य बनाउनेलाई कारवाही गर्ने भएको हो।
मुलुकी अपराधसंहिता, २०७४ ले परिभाषित गरेका सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धका कानुनी व्यवस्था सम्बन्धमा आम नागरिकमा व्यापक सचेतनामूलक अभियान सञ्चालन गर्ने पनि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललले जानकारी दिए। जिल्लाका सबै स्थानीय तहलाई आफ्नो स्थानीय तहमा सचेतनामूलक कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइदिन हुन पनि प्रशासनले आग्रह गरेको छ।
छाउपडी प्रथालाई प्रशय दिने गरी कुनै पनि गतिविधि भएको पाइएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम कारबाही गर्न सबै सुरक्षा निकायलाई निर्देशन दिइसकिएको हुँदा त्यस प्रकारका गतिविधिहरू नगर्न(नगराउन समेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। ‘छाउगोठ नराख्न सूचना जारी गरेका छौँ। राख्नेलाई कारवाही हुनेछ’, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘सबै सुरक्षा निकायलाई निर्देशन समेत दिएका छौं। छाउगोठ राख्ने तथा बस्न बाध्य बनाउनेकाविरुद्ध सशक्त रूपमा कारवाही गर्छौं।’
छाउपडी प्रथा एक सामाजिक अपराध कुरीति अन्धविश्वास भएकाले महिनावारी भएका महिलामाथि सामाजिक भेदभाव नगर्न(नगराउन तथा यस किसिमका लागि निरुत्साहित गर्न स्थानीय तहलाई प्रशासनले अनुरोध गरेको छ।