स्थानीय कला संस्कृतिलाई प्राथमिकता नदिइएको आरोप
धनगढी- अकस्मातको झरी र विभिन्न गुनासोबीच सञ्चालन भइरहेको महोत्सवले दर्शकलाई नचाइरहेको छ । यसपटकको १४औं संस्करणको सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि धनगढीमा चलिरहेको छ ।
कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा राजधानीबाट निम्त्याइएका कलाकारहरूले मनोरञ्जन प्रदान गरिरहेका छन् ।
रामकृष्ण ढकाल, नवीन पौडेल, राजेशपायल राई, प्रकाश सपुत, शान्ति परियार,प्रमोद खरेल ,पशुपति शर्मा, रीता केसीलगायत कलाकारको प्रस्तुतिले महोत्सवको रौनक बढाएको छ । ‘राजेशपायल राईको गीतमा धित मर्ने गरी नाचियो,’ धनगढीका रमेश भट्टले भने । दैनिक ३० हजार बढी दर्शकले सांगीतिक मनोरञ्जन लिइरहेको आयोजकको दाबी छ ।
यसपटक भने धनगढीमा आयोजना गरिएको महोत्सवले समग्र सुदूरपश्चिमको प्रतिनिधित्व गर्न नसकेको भन्दै गुनासो बढेको छ । महोत्सवमा स्थानीय कला संस्कृतिलाई प्राथमिकता नदिइएको देउडा गायक लालबहादुर थापाको गुनासो छ । ‘आफ्नो क्षेत्रको कला संस्कृतिलाई ओझेलमा पार्नु बेठीक हो,’ उनले भने, ‘देउडाको त स्वरै सुन्न पाइएन ।’ देउडामा ख्याति कमाएका लोकप्रिय कलाकार हुँदाहुँदै पनि आयोजकले व्यापारलाई मात्र प्राथमिकता दिएको उनले बताए । महोत्सवमा देउडा हेर्ने र सुन्ने रहरले धनगढी कटानबाट आएकी प्रेमकला सार्कीले पनि देउडा गाउने कलाकार नदेख्दा खल्लो लागेको बताइन् । ‘देउडा हेर्न आएका हौं । यहाँ त अरुअरु कलाकार मात्रै रहेछन्,’ उनले भनिन् ।
धनगढी उपमहानगरका प्रमुख नृप बडको बुझाइमा पनि महोत्सवले ब्यापारलाई मात्र ख्याल गरेको बताए । ‘हामी सरकारी निकायले पनि महोत्सवमा लगानी गरेका छौं,’ उनले भने, ‘यस प्रदेशको कला संस्कृतिको प्रवर्द्धनका हिसाबले हामीले सहयोग गरेका हौं । तर महोत्सवमा त्यस्तो देखिएन ।’ उनले सुरुदेखि आफूले त्यही परामर्श र सुझाव दिए पनि आयोजकले कार्यान्वयन नगरेको बताए । देउडालाई प्रमुख प्राथमिकता दिएर थोरै भए पनि यस क्षेत्रका हुड्के, छलिया, भुवा, होलीलगायत संस्कृति नसमेट्निु दुखद रहेको बताए ।
महोत्सव सुदूरपश्चिमको कला संस्कृति झल्काउने माध्यम हुनुपर्नेमा त्यसो हुन नसकेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रतिनिधिहरू बताउँछन् । ‘बाहिरबाट सुदूरपश्चिमका आएकाहरूले हाम्रो संस्कृति चिन्न पाउने अवसर मिल्ने थलो हुनुपर्ने हो यो महोत्सव,’ मन्त्रालयको पर्यटन शाखा प्रमुख भोजराज पाठकले भने, ‘बाहिरका कलाकारहरूसँगै यस क्षेत्रका कलाकार र संस्कृतिलाई प्राथमिकता दिए
राम्रो हुन्थ्यो ।’
सुदूरपश्चिम कलाकार मञ्चका अध्यक्ष गीतकार राजेन्द्र शाहले आफुहरूलाई महोत्सवमा कुनै अपनत्व नभएको बताए । ‘सुदूरपश्चिम महोत्सव भनिसकेपछि यस क्षेत्रको कला साहित्य र संस्कृतिले प्राथमिकता पाउनै पर्ने हो,’ उनले भने, ‘आयोजकका व्यापापरिक बाध्यता पनि होलान् । तर त्यसो भन्दैमा सुदूरपश्चिम चिनाउने यस्ता महोत्सवमा यसै ठाउँले महत्त्व पाउनुपर्छ ।’
तर आयोजक एवं सांस्कृतिक समिति संयोजक अब्बु ओझा भने यहाँका कलाकारहरूलाई पनि उचित स्थान दिएको बताउँछन् । ‘समेट्दै नसमेटेको भन्ने होइन,’ उनले भने, ‘बाहिर र यहाँका कलाकारहरू बराबर संख्यामा होलान् ।’ तर महोत्सव हेर्न आएका धेरैले उद्घोषकसमेत थुप्रै खर्च गरी काठमाडौंबाटै निम्त्याइएकोमा गुनासो गरे । ‘प्रदेशमा एकजना उद्घोषक पनि नभए जस्तो बाहिरबाटै ल्याउनु ठीक भएन,’ महोत्सवस्थलमै भेटिएका धनगढीका झंकर कुँवरले भने ।
आयोजकले महोत्सवमा १० करोडबराबरको व्यापारको लक्ष्य राखेको जनाएको छ । महोत्सवमा टिकट बिक्रीबाट दैनिक करिब १० लाख रुपैयाँबराबर रकम उठेको आयोजकको भनाइ छ । महोत्सवस्थलमा ब्यापारीहरूले राख्ने स्टल तथा मनोरञ्जनका अन्य सामग्रीबाट उठ्ने रकम आयोजकको अर्को मुख्य आम्दानी हो । विगतका वर्षभन्दा योपटक स्टलको संख्या पनि बढेको छ । यो वर्ष ४ सय स्टल पुगेका छन् ।
यीमध्ये अटोमोबाइल्सका १२ स्टल छन् । त्यसबाट प्रतिस्टल २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । जसमध्ये २ पांग्रेका ६ स्टल छन् । प्रतिस्टलको २० हजार रुपैयाँ शुल्क तोकिएको छ । ठूलो उद्योग प्रतिष्ठानका ४ स्टल छन् । यसमा प्रतिस्टल १८ हजार रुपैयाँ भाडा कायम छ । आयोजकले निर्धारण गरेको १५ हजार तिरेर २८ मझौला उद्योग प्रतिष्ठान छन् । स्टल व्यवस्थापन समिति संयोजक रवि कुँवरका अनुसार प्रतिस्टलको २२ हजार तिर्ने गरी २९ रेस्टुरेन्ट राखिएका छन् ।
यस्तै १० हजार तिरेर कृषिजन्य वस्तुको एउटा स्टल राखिएको छ । साना हस्तकला तथा महिला उद्यमीका १२ स्टल सञ्चालनमा छन् । उनीहरूले प्रतिस्टल ८ हजार रुपैयाँ आयोजकलाई तिरेका छन् । ८ बैंक तथा वित्तीय संस्थाले पनि स्टल राखेका छन् । सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू पनि छन् । १५ हजार शुल्क तिरेर २ सय ७० भन्दा व्यपारिक स्टल राखिएका छन् । यस्तै आयोजकले रमाइलो मेलाबाट २२ लाख रुपैयाँ लिएका छन् । कैलालीका स्थानीय तह, पर्यटन बोर्ड, विभिन्न मन्त्रालय र संघ–संस्थाहरू महोत्सवका प्रवर्द्धक हुन् ।
शुक्रबार र शनिबारको झरीले महोत्सव अवरुद्ध भए पनि दर्शकहरूको घुँइचो हिजोआज झन् बढेको छ । बीचमा वर्षा भएकाले १० दिनसम्म सञ्चालन गर्ने भनिएको महोत्सव ४ दिन थप गर्ने योजना रहेको संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।
(साभार : कान्तिपुर बाट)