कञ्चनपुर
हालै सम्पन्न भएको दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा कञ्चनपुरको भीमदत्त नगरपालिका ७ नम्बर वडाबाट सहभागि भएका पाँच खेलाडीले रजत र कास्य पदक ल्याएका छन् ।
नेपालका तर्फबाट कुस्ती, भारत्तोलन र खोखोका पाँच खेलाडीले सहभागि भएर राम्रो स्थान ल्याएका हुन् । साग प्रतियोगिताका विजेता खेलाडी, सहभागि खेलाडी सहित प्रशिक्षकलाई भीमदत्त नगरपालिका ७ नम्बर वडाले सम्मानका साथै पुरस्कृत गरेको छ ।
भीमदत्त नगरपालिका ७ का वडाध्यक्ष शंकर कुँवरले खेलाडीको हौसला प्रदान गर्नका लागि सम्मानका साथै पुरस्कृत गरिएको बताए । वडाध्यक्ष कुँवरका अनुसार कुस्ती तर्फ अम्भिका भण्डारी, निर्मला जाग्रीले रजत पदक ल्याएका थिए । विशाल विष्ट र सागर भण्डारीलेले भारत्तोलनमा रजत पदक ल्याए, भने सन्तोष बोहराले खोओमा कास्य पदक ल्याएका थिए । कर्बडी तर्फ सहभागि भएका सोही वडाकै जय बहादुर बोहरालाई समेत पुरस्कृत एव सम्मानित गरिएको छ ।
वडाध्यक्ष कुँवरले रजत पदक ल्याउनेलाई नगद १०, कास्य र सहभागि खेलाडीलाई ५ हजारका दरले पुरस्कार वतरण गरिएको बताए । ‘हामीले वडाका तर्फबाट खेलाडीको सम्मान र हौसला प्रदानका लागि उक्त कार्यक्रम ल्याएका हौँ, ‘वडाध्यक्ष कुँवरले भने, ‘यो प्रयास वडाबाट गरियो, थप पुरस्कारका लागि माथिल्ला निकायमा पहल गछौँ ।’ यस्तै वडाले सोही वडाकै कर्बडीका प्रशिक्षक विष्णू दत्त भट्ट, कुस्तीका प्रशिक्षक राजेन्द्र चन्द, भलिबल प्रशिक्षक जगदिश प्रशाद भट्ट, भारत्तोलनका जिवन गौमतमलाई समेत सम्मानका साथै नगद ५ हजारका दरले पुरस्कृत गरिएको छ ।

एकै वडाका ६ जना खेलाडीको वडा कार्यालयले भव्य स्वागत एव सम्मान गरेको छ । उनीहरुलाई राष्ट्रिय झण्डा, प्रमाण पत्रका साथै रबिरफुलमालाले गाउँतिर खुसियाली निकालिएको थियो । वडा कार्यालयबाट शुरु गरिएको खुसियाली ¥यालीमा हजारौँको सहभागिता रहेको थियो । स्थानीय महाकाली जनसेवा माविको प्राङ्गणमा खेलाडी एव प्रशिक्षकलाई सम्मानका साथै पुरस्कार वितरण गरियो । भीमदत्त नगरका उप प्रमुख शुशिला चन्दले सागका पदक ल्याउने खेलाडी र प्रतिक्षकलाई पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण गर्दै उप प्रमुख चन्दले नगरपालिकाका तर्फबाट समेत नगरभरीका खेलाडीको सम्मान एव पुरस्कार वितरण गरिने घोषणा गरिन् ।
जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका अध्यक्ष शेर बहादुर चन्दले स्वयम खेलाडीको मेहनत, प्रशिक्षणको कर्तव्य एव राज्यका तर्फबाट खेल क्षेत्रमा भएको भूमिकाले नेपालले सागमा राम्रो पदक ल्याएको बताउदै खेल क्षेत्रको थप विकासका लागि राज्यका तर्फबाट अझै पहल हुनुपर्नेमा जोडदिएका छन् ।
भीनपा ७ ले खेदकुदको बृद्धि विकासका लागि चालु आर्थिक बर्षमा समेत दुई लाख विनियोजन गरेको छ । आईतबार ५५ किलो तौल समुहमा कुस्तीमा स्वर्ण पदक भीमदत्त नगरपालिका ३तिलकपुरकी संगिता धामीलाई समेत उनको वडाले आईतबार नगद २५ हजार पुरस्कार साथै खुसियाली ¥याली निकालेको थियो । कञ्चनपुरबाट थुप्रै खेलाडीले सागमा सहभागि भएर राम्रो पदक ल्याएका छन् । उनीहरुलाई वडा, नगर गाउँले सम्मान गरेपनि सिङ्ग कञ्चनपुरको प्रतिनिधितव हुने हिसाबले जिल्ला स्तरमै एकिकृत रुपमा सम्मान गरिनुपर्ने नागरिक स्तरबाट सुझाव आएको छ ।
यसैविच तेक्वान्डो तर्फ पदक ल्याएका कृष्णपुर नगरपालिका ९का राजघाटका दुई खेलाडीलाई समेत विद्यालयले स्वागत सम्मान गरेको छ । पञ्चाधिन राजघाटका विद्यालयका भुतपुर्व विद्यार्थीद्वय बीर बहादुर महरा र मनोज मल्ललाई विद्यालयले सम्मान गरेको छ ।
