डोटी- सुदूरपश्चिमको पहाडबाट भैँसी निकासी हुन थालेको डेढ दशक नाघ्यो। सुरुवातका वर्षहरुमा अवैध ढंगबाट चोरबाटो प्रयोग गरी लस्करका लस्कर भैँसीहरु तस्करी गर्दथे। यसरी निकासी हुने भैँसीका लस्कर अझै रोकिएका छैनन्। बरु त्यसलाई अहिले बैधानिक बाटोमा डोर्याउने कोसिस गरिएको सरोकारवालाहरु बताउँछन्। ‘अहिले उनीहरुले बैधानिक कारोबार गरिहेका छन्,’ सुदूरपश्चिम प्रदेश, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका निर्देशक डा। मदनसिँह धामी भन्छन्,‘हाल यस प्रदेशमा नौ सय ६१ जनाले व्यवसायिक रुपमा दर्ता भएर भैँसीको कारोबार गरिरहेका छन्।’
गत आर्थिक वर्ष २०७५र०७६ मा मात्रै सुदूरपश्चिमबाट ४० करोडभन्दा बढीका भैँसीहरु निकासी भए , यसरी वर्षौदेखि भईरहेको भैँसीको तस्करीरनिकासी दुग्धजन्य कारोबारका लागि नभएर मासुजन्य कारोबारका लागि हो। ‘नेपाली बजारमै भैँसीको मासुको माग ठुलो छ,’ भैँसी कारोबारमा संलग्न कैलालीको अत्तरिया व्यवसायी बालकृष्ण भट्टराईले भने,‘यसैले हामीलाई माग अनुसारको आपूर्ति भ्याउनै कठिन छ।’
नेपालमै आपूर्ति नभईरहेको अवस्था भएपनि यहाँका भैँसीको मासु चीन र भियतनामसम्म पुग्ने गरेको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका डा। धामीले बताए। उनले भने, ‘चिनियाँ नागरिकहरुले नेपालमै प्रशोधन केन्द्र खोलेर चीनमा नेपाली भैँसीको मासु पठाईरहेका छन्। जो भियतनामसम्म पुग्छ।’
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलका अनुसार गत आर्थिक वर्ष २०७५र०७६ मा मात्रै सुदूरपश्चिमबाट ४० करोडभन्दा बढीका भैँसीहरु निकासी भएका छन्। जसमा करिब १२ हजार भन्दा बढी संख्यामा भैँसी निर्यात भएको तथ्याङ्क छ। ‘मासिक एक हजारका हाराहारीमा यहाँका भैँसी निकासी भईरहेको तथ्यांक छ,’ निर्देशक डा धामीले भने।
अन्तर्राष्ट्रिय बजारबाट तिब्र माग भएको भैँसीको उत्पादनलाई व्यवसायिक बनाउन सके मनग्य आम्दानी गर्न सकिने अवस्था रहेको कारोबारीहरु बताउँछन्। ‘अन्तर्राष्ट्रिय बजारमा मासुजन्य उत्पादनमा बढी माग भनेकै भैँसीको छ,’ भैँसीको कारोबारी भट्टराई भन्छन्,‘तर हामीकहाँ भैँसीलाई दुधकै लागि मात्र पाल्ने चलन छ। यसलाई मासुका लागि पनि भनेर उत्पादन गरे ठूलो आम्दानी गर्न सकिन्छ।’
सोही कुरालाई स्विकार्दै निर्देशक धामीले प्रदेश सरकारमा भैँसी उत्पादन प्रबद्र्धनका कार्यक्रम अघि सारिएको बताए। उनले भने,‘सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय माग भएको र मूल्य पनि पाईने उत्पादनमा हामीले बढावा दिने योजना सार्नुपर्छ। तब आर्थिक विकास सम्भव हुन्छ।’ चीनमा मात्रै खर्बौको भैँसीको माग भईरहेको उनले बताए। ‘चीनजस्तो जनसंख्या बाक्लो भएको मुलुकले नेपालबाट जतिपनि भैँसी खपत गर्न सक्छ,’ उनले थपे।
भेटिदैनन् गाउँमा भैँसी
एक समय थियो, गाउँका हर घरमा भैँसी हुन्थे। त्यो पनि एक होईन दर्जनौं। पाहुना आउँदा दहीले स्वागत गर्ने प्रचलन थियो। घरायसी आहार व्यवहारमा दुग्धजन्य पदार्थको सहभागिता अनिवार्य थियो। बलियो हिस्टपुष्ट मानिस देखे दुधदही खाएको भन्ने लख काटिन्थ्यो। ‘दुधरदही नभए त घाँटीमा खाना नै जान्नथ्यो। अहिलेजस्तो थरीथरीका तरकारीहरु हुन्नथे,’ बोगटान फुड्सिल गाउँपालिका–७ का रामबहादुर बम(७५)को कथन छ,‘बालबच्चा जन्मदा लैनो भैँसी घरमा बाँधिन्थ्यो। टन्न दुध खुवाएको बच्चा ताकतवर निस्कन्थ्यो !’
भैँसीपालन धेरैको जीवन चलाउने मेसो थियो। अन्न उब्जाउन पर्याप्त जमिन नहुनेहरु भैँसी जम्मा पारेर लेकऔल९लेकवेशी० धाँउथे। ‘जमिन नभए भैँसी बिकल्प हुन्थ्यो। भैँसी पालेर टन्न घ्यू पाथ्र्यौ,’ आदर्श गाउँपालिकाका चिन्तामणी जोशी(७७) स्मरण गर्छन्,‘त्यही घ्यूसँग अन्न साँटिन्थ्यो।’ यसरी उत्पादन भएको घ्यू भारतको टनकपुरसम्म पु¥याएर बेचेको उनको अनुभव छ।
त्यो समय भोगेका वृद्धहरुको मन अहिले गाउँमा एउटै भैँसी नदेख्दा विरक्त लाग्छ। ‘सारा गाउँभरी खोज्दा दुधै पाउन्न। पुरा जमाना नै दुध खान्न किरु झैँ लाग्छ,’ बोगटान गाउँपालिकाका ठेउके नेपाली(८०) दुखेसो पोख्छन्।
हुनपनि सुदूरपश्चिम पहाडमा भएको यस्तै छ। अहिले अधिकांश गाउँमा भैँसी भेटिनै छाडेका छन्। जसले ग्रामीण क्षेत्रमा दुधको उपलब्धता शुन्य प्रायः भएको छ। ‘गाउँमा दुध खाउला वा दुध हालेको चिया खाउला नसोचे हुन्छ,’ डोटीका एक सामाजिक कार्यकर्ता एकराज बडुको अनुभव छ,‘मैले गाउँमा काम गर्न थालेको आठरनौ वर्ष भयो। दुध खान पाएको मेरो स्मरणमा छैन।’
भैँसी पाल्नै चाहेपनि पाईन नै कठिन भएको किसानहरुको दुखेसो छ। ‘भैँसी पाउन सजिलो पनि छैन। भेटिए एउटै भैँसीको लाखबढी पर्छ,’ बोगटान गाउँपालिका–३ का किसान प्रेमसिँह धामी भन्छन्।
(साभार : नागरीक दैनिक)