धनगढी १४ पुस/अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमा ‘न्यू इयर इभ २०२४’ इन्डोर हलभित्र आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका–४ धनगढीस्थित शहीद गेटमा रहेको सौंराइ स्क्वायरको आयोजनामा न्यू इयर इभ हुने भएको हो।
जाडो मौसमलाई मध्यनजर गर्दै हलभित्र न्यू इभ इयरको आयोजना गरिएको सौंराइ स्क्वायरका सञ्चालक उमेश विक्रम शाहले जानकारी दिए। उनले भने, ‘बाहिर कार्यक्रम गर्दा तराईमा सित लहर पर्ने सम्भावना छ। सित लहर र जाडोबाट बच्नका लागि हामी हलभित्र कार्यक्रम आयोजना गरेका हौँ।’
सञ्चालक शाहका अनुसार ग्राहकहरूको स्वास्थ्यलाई पनि ध्यानमा राखेर हलभित्र कार्यक्रम गर्न लागिएको हो। कार्यक्रम सौंराइ स्क्वायरमा ३१ डिसेम्बर अर्थात् पुस १५ गते साँझ ७ बजेदेखि राति १२ बजेसम्म आयोजना हुने जनाइएको छ।
कार्यक्रममा काठमाडौंबाट चर्चित डिजे श्रेया, चर्चित डान्सर मोडेल सदिच्छा चौधरी, शुसिला कार्की, कोपीला सिंह, नेहेल्जा चौधरी, गायक सनम परियार, किरन नेपाली साथमा नाइन एक्स डान्स एकेडेमीलगायतको प्रस्तुति रहनेछ। कार्यक्रममा प्रवेश शुल्क पाँच सय र तीन सय तोकिएको छ।पाँच सयको टिकट काट्नेलाई एउटा बियर सित्तैमा दिइने आयोजकले जनाएको छ।