३ हजार मेट्रिक टन भण्डारण गर्न सक्ने क्षमता रहेको चिस्यान केन्द्रको अनुमानित लागत ११ करोड ७६ लाख १९ हजार ७ सय रुपैयाँ रहेको छ । चिस्यान केन्द्र सञ्चालनमा आए २० हजार बढी कृषकले प्रत्यक्ष लाभ लिन पाउने जनाइएको छ ।
तरकारी र फलफूल भण्डारणका लागि सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन प्रालिले कैलालीको घोडाघोडी नगरपालिका– १०, पहलमानपुरमा कोल्ड स्टोर निर्माण गरिरहेको छ ।
तीन हजार मेट्रिक टन भण्डारण क्षमता रहने गरी निर्माण भइरहेको सुदूरपश्चिम चिस्यान केन्द्रको निर्माण कार्य ९० प्रतिशत पूरा भएको सञ्चालक समिति सदस्य पुष्कल बमले बताए ।
निजीक्षेत्रबाट निर्माण तथा सञ्चालन हुने चिस्यान भण्डारले प्रदेश सरकारको कृषिमा आत्मनिर्भर र प्रदेश समृद्धिको यात्रामा महत्त्वपूर्ण भूमिका रहने विश्वास लिइएको छ । चिस्यान केन्द्र सञ्चालनमा आए २० हजारभन्दा बढी कृषकले प्रत्यक्ष लाभ पाउने बताइएको छ ।
चिस्यान केन्द्रमा कृषकको फलफूल, तरकारी र मसला भण्डारण गरिने सुदूरपश्चिम मोहन्याल पशु पालन व्यवसाय प्रालिका अध्यक्ष रामबहादुर रावतले बताए ।
घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकाअन्तर्गतका कृषकहरूलाई लक्षित गर्दै सञ्चालनको तयारीमा रहेको चिस्यान केन्द्रमा आवश्यक सहयोगका लागि स्थानीय सरकारले पनि तदारुकता देखाएको छ । गौरीगंगा नगरपालिका मेयर भीमबहादुर देउवाले चिस्यान केन्द्रलाई आवश्यक सम्पूर्ण सहयोग गरिने बताए ।
निजीक्षेत्रबाट सञ्चालनको अन्तिम तयारीमा रहेको चिस्यान केन्द्रलाई व्यवस्थित पार्न स्थानीय र प्रदेश सरकारले पनि सहयोगको प्रतिवद्धता जनाएका छन् ।
भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विनिता चौधरीले चिस्यान भण्डारले कृषिमा आत्मनिर्भर र प्रदेश समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
कोल्ड स्टोर पुस मसान्तमा सञ्चालनमा ल्याइसक्ने गरी काम भइरहेको छ । चिस्यान केन्द्र नहुँदा यस क्षेत्रका कृषकहरूले उत्पादन गरेका वस्तु कुहिने सड्ने गरेका छन् । तर, अब भने चिस्यान केन्द्र सञ्चालनमा आए यो समस्या हट्ने अपेक्षा गरिएको छ ।