धनगढी
भारतको उत्तर प्रदेश सरकारले गौरीफन्टा नाकामा स्थापना गर्ने भनिएको प्लान्ट क्वारेन्टाइनको कार्यालय पलियामा राख्ने तयारी गरेको छ। उत्तर प्रदेश सरकारले नोभेम्बर १४ मा उक्त नाकामा प्लान्ट क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरे पनि पलियामा कार्यालय राख्ने प्रक्रिया अगाडि बढाएको हो।
गौरीफन्टा नाकामा दुधुवा नेसनल पार्कले आवश्यक जग्गा उपलब्ध नगराएका कारण पलियामा कार्यालय राख्न लागिएको भारतीय सीमा सुरक्षा बलले जनाएको छ। नोभेम्बर १४ को निर्णयअनुसार यसअघि उत्तर प्रदेशको राजधानी लखनउ यता नरहेको प्लान्ट क्वारेन्टाइन अब भने सीमा क्षेत्रमा विस्तार गर्ने तयारी थालिएको जनाइएको छ। भारतले गौरीफन्टा नाकामा क्वारेन्टाइन राखेपछि आयात तथा निर्यातमा सहजता आउने व्यवसायीको भनाइ छ।
गौरीफन्टा नाकामा दुधुवा नेसनल पार्कले आवश्यक जग्गा उपलब्ध नगराएका कारण पलियामा कार्यालय राख्न लागिएको भारतीय सीमा सुरक्षा बलले जनाएको छ।
यसअघि गौरीफन्टामा क्वारेन्टाइन नहुँदा नेपालमा उत्पादित तरकारी, फलफूल भारत लैजानुपरेमा नेपालगञ्जहुँदै लैजानुपर्ने व्यवसायीको बाध्यता अब भने हट्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।
‘यो हाम्रो वर्षौंदेखिको माग हो,’ उनले भने, ‘भारत सरकारले ढिलै भए पनि हाम्रो र त्यहाँका व्यवसायीको मागलाई सम्बोधन गरेको छ।’ उनले गौरीफन्टा नाकामा दुवै देशले प्लान्ट क्वारेन्टाइन स्थापना गरेसँगै तरकारी, फलफूल तथा अन्य कृषिजन्य उत्पादनको आयातनिर्यातमा सहजता आउने उनले बताए।
नोभेम्बर १४ मा गरेका निर्णयका आधारमा उत्तर प्रदेश सरकारले सोमबार नै गौरीफन्टा नाकामा प्लान्ट क्वारेन्टाइन स्थापना गर्ने तयारी गरेको भए पनि केही प्रक्रिया नमिलेका कारण ढिलाइ भएको बुझिएको पशु क्वारेन्टाइन गड्डाचौकीका प्रमुख देवराज खातीले बताए। ‘गड्डा चौकीमा दुवै देशको सीमानातर्फ प्लान्ट क्वारेन्टाइन भए पनि पुल नहुँदा सामान ओसारपसार भएको थिएन,’ उनले भने, ‘गौरीफन्टामा क्वारेन्टाइन नै नहुँदा किसानले समस्या भोग्दै आएका थिए, अब त्यो समस्या समाधान हुन्छ।’
यसअघि नेपालबाट निर्यात गर्दा वा भारतबाट कृषिजन्य वस्तु आयात गर्दा नेपालगञ्जहुँदै सुदूरपश्चिम आउनुपर्ने बाध्यता अब अन्त्य हुने उनले बताए। यसले सुदूरपश्चिमेलीलाई कृषि उपजको अन्तर्राष्ट्रिय बजारीकरणमा ठूलो टेवा पुग्ने उनको भनाइ छ।
कृषकका आशङ्का
भारतले सीमा क्षेत्रमा प्लान्ट क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरे पनि कृषकले पलिया कार्यालय राख्नु शङ्कास्पद रहेको प्रतिक्रिया दिएका छन्।
केराखेती कृषक लक्षिराम आचार्यले पलियामा क्वारेन्टाइन राख्दा नेपालका कृषकले त्यसबाट फाइदा उठाउन नसक्ने बताए। ‘नेपालमा उत्पादित कृषिजन्य पदार्थ निर्यात गर्न खोज्दा भारतको अनुमतिका लागि तीन दिनसम्म पर्खिनुपर्ने बाध्यता हुन सक्दछ,’ उनले भने, ‘यसले कृषिजन्य वस्तु बिग्रिने समस्याको सामना गर्नुपर्ने हुन्छ।’
उनले सीमा क्षेत्रमा पशु क्वारेन्टाइन स्थापना गर्दा दुवै देशको समान दूरी हुनुपर्ने बताए। ‘नेपालतर्फ गौरीफन्टा नाकामै प्लान्ट क्वारेन्टाइन स्थापना गरिएको छ,’ उनले भने, ‘भारत सरकारले गौरीफन्टा नभइ पलियामा क्वारेन्टाइन राख्दा न्यायोचित हुँदैन र अन्तर्राष्ट्रिय व्यापार महासन्धीसँग मेल पनि खाँदैन।’ उनले फाइटो सेनेटरी प्रमाणपत्र थमाएर नेपालमा विषादी तरकारी तथा फलफूल निर्यात गर्ने खेल भएको भन्दै त्यसले नेपाललाई झनै नोक्सान पुर्याउने बताए।
कृषि विकास निर्देशनालय सुदूरपश्चिम प्रदेशका प्रमुख यज्ञराज जोशीले भारतीय स्वार्थ हुने पक्का भए पनि नेपालीलाई समेत फाइदा हुने बताए। हामीले अत्तरियामा विषादी प्रयोगशाला राखेका छौं,’ उनले भने, ‘गड्डा चौकीबाट अत्तरिया टाढा पर्दछ, त्यसैले पलियामा प्लान्ट क्वारेन्टाइन स्थापना गर्दा त्यहाँका व्यापारीलाई फाइदा पुग्ने देखिन्छ।’ गड्डाचौकीबाट अत्तरिया आउन झन्झट हुने भएका कारण भारतले पलियामा प्लान्ट क्वारेन्टाइन राख्दा भारतका व्यापारीलाई कृषिजन्य पदार्थ नेपाल ल्याउन फाइदा हुने उनले बताए।
‘अहिले उत्तर प्रदेशको मुख्य व्यापारिक क्षेत्र नेपाल हो,’ निर्देशक जोशीले भने, ‘त्यसैले पनि उसले क्वारेन्टाइन गौरीफन्टामा राख्नुपर्ने आवश्यक ठानेको हुनसक्छ।’ क्वारेन्टाइनमा स्तरीय मेसिन राख्न नसके त्यसले विषादी नियन्त्रण नहुने उनको भनाइ छ।
(साभार : नेपाल न्युज अनलाईन)