धनगढी, १९ भदौ / कैलाली जिल्ला अदालतको आदेश लत्याएको धनगढी उपमहानगरपालिकामाथि मानहानि मुद्दा दायर भएको छ ।
मंगलबार दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरेका हुन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ, धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाई रिट दायर गरिएको जनाइएको छ । रिटमाथि बिहिबार बहस तोकिएको रिट दायरकर्ता पाठकले बताए ।
जिल्ला अदालत सम्झौता विपरित कुनै काम नगर्न र नगराउन आदेश दिएपनि उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा डोजर चलाएको थियो ।
अदालतको आदेश विपरित उपमहानगरपालिकाले भदौ ८ गते डोजर चलाएर संरचना भत्काएको थियो । जिल्ला न्यायधिश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको छ –‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबिच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौता विपरितको कुनै पनि कार्य नगर्नु नगराउन भनि मुलुकी देवानी सहित २०७४ को दफा ५४१ (२) बमोजिम यो उपयूक्त आदेश जारी गरि दिएको छ । आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनु ।’
तर, उपमहानगरपालिकाले सम्झौता मिति सकिएको भन्दै त्यहाँ व्यवसायी गरिरहेका व्यापारीहरुलाई अन्यत्र पठाउने गरि डोजर चलाएको थियो । ठेक्का सम्झौता गरेका ओम पाठकले भने –‘अदालतको आदेश आएपछि त्यहाँ ढुक्कसंग व्यवसायीहरुले आफनो व्यापार गरिरहेका थिए । एक्कासी अदालतको आदेश पनि नटेरेर उपमहानगरपालिकाले डोजर चलाएर बनेका संरचनामा क्षति पुर्याएको छ ।’