डोटी, ८ भदौ / जोरायल गाउँपालिका वडा नं. ३ का युवाहरूले श्रमदानबाट बिजुली बालेका छन् । वडाध्यक्ष नवीन ओझाको अगुवाइमा स्थानीयले श्रमदानबाट बिद्युत विस्तार गर्दै ४ टोलमा बिजुली बालिसकेका छन् भने अन्य टोलमा बिस्तार कार्य जारी छ ।
५ वर्ष अघि ठेक्का लागेको बिद्युत विस्तारको योजना ठेकेदारले अलपत्र पारेपछि ३ सय ७६ पोल श्रमदानबाट बिस्तार कार्य तीव्र छ । तार र पोल ढुवानीमा श्रमदान भएको वडाध्यक्ष ओझाले बताए । ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा ठेकेदारले ढुवानी गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन । ‘ निगल्तडा, धुरिया, मटेला, कापडी, कफल्टाक टोलमा बिजुली बलिसकेको छ,’ वडाध्यक्ष नवीन ओझाले भने, ‘कनेडी फिरिङ्ताल बिजुली बिस्तार कार्य सम्पन्न भइसकेको छ भने बरम टोलमा लाइन तानी सकेको , थली नौकुँडा टोलमा ट्रान्स मिटर चार्ज गर्न मात्र बाँकी रहेको , गडाखर्क थ्री फेज लाइन तानी सकेको , अल्याडी, ठाटी, गडा, दुदेखाली टोलमा विधुत विस्तार कार्य श्रमदानबाट जारी रहेको छ ।’ उनले ३० प्रतिशत घरधुरीमा मात्र विद्युत रहेको वडामा तिहार भित्रै बालिसक्ने योजना रहेको बताए ।
पटक पटक पहल गर्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि श्रमदानबाट काम गर्न बाध्य भएको वडाध्यक्ष ओझाले बताए । ‘ठेकेदारले ठाउँ ठाउँमा बिद्युत सामानहरू अलपत्र पारेका छन् , उपलब्ध सामाग्री हामीले उपयोगमा ल्याएका छौँ’, वडाध्यक्षले भने, ‘अब हामीले श्रमदानबाट गरेको कामको नाँपजाँच गरेर ठेकेदारले भुक्तानी लिन सक्छन् , यहाँ अझै धेरै सामाग्रीहरूको अभाव देखिएको छ ।’
यता डोटी बिद्युत वितरण कार्यालय प्रमुख शिवशंकर सोनीले भने सो क्षेत्रमा ठेकेदारले काम नगरी सम्पर्कविहीन भएपछि सञ्चार माध्यममा नाम सार्वजनिक गर्दा ठेकेदार भरत बहादुर कठायत सम्पर्कमा आएको बताए । जोरायलमा उनका नाममा ४ वटा ठेक्का छन् । सम्पर्क आएपछि अधिकांश ठाउँमा काम गरिसकेकाले १०÷१२ दिन लगाएर कामको मूल्याङ्कन गरी प्रतिवेदन बनाउने काम भइरहेको कार्यालय प्रमुख सोनीले बताए । असारमै म्याद सकिसकेकाले म्याद थप भएर सबै प्रक्रिया पुरा भएमा मात्रै ठेकेदारले भुक्तानी पाउने उनी बताउँछन् । यद्यपि ठेकेदारले के कति सर्तमा स्थानीयलाई श्रमदानमा लगाए भन्ने कुरा आफूले थाहा नभएको कार्यालय प्रमुखको भनाइ छ । ‘फिल्डमा भएको कामको नाँपजाँच गरिसकेका छौँ तर भुक्तानी भइसकेको छैन’, कार्यालय प्रमुख सोनीले भने, ‘कार्यालयले ठेकेदारलाई नै भुक्तानी गर्ने हो, त्यहाँ गरिएको कामको रकम स्थानीयलाई के कसरी दिन्छन् उहाँहरू दुई पक्षबिचको कुरा हो ।’
ठेकेदारले सामाग्री उपलब्ध गराउन नसक्दा काममा केही ढिला भएको श्रमदानमा खटिएका स्थानीय डिल्लीराज जोशीले बताए । उनले गाउँ ठाउँको विकास सरकारी बजेटलाई मात्र कुरेर सम्भव नहुने भएकाले युवाहरू योजनाबद्धरुपमा खटिएको जानकारी दिए ।
नेकपा माओवादी वडा कमिटिअध्यक्ष मनोज ओली, नेकपा एमालेका उपेन्द्र मल्लले पनि श्रमदानको उच्च प्रशंसा गरे । ‘रातदिन गाउँका सबै खटिएर श्रमदानमा जुटेका छौँ’, माओवादीका वडा कमिटी अध्यक्ष ओलीले खुसी व्यक्त गर्दै भने, ‘ विकास निर्माणमा यो पार्टी त्यो पार्टी, यो जात त्यो जात भनेर हुन्न, श्रमदानले सामूहिक भावनाको पनि विकास गरेको छ ।’