कर चुक्ता प्रमाणपत्र किर्ते गरेको आरोप लागेका धनगढीको अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत सहितका दुईजनालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन्। प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमती पाईसकेको भएपनि बस्नेत र अर्का सञ्चालक प्रदिप अग्रवाललाई प्रहरीले पक्राउ गर्न नसकेको हो।
तर पक्राउ गर्ने अनुमतीपछि दुवैजनाको खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए। उनले गत सोमवारदेखि नै खोजी कार्य भईरहेपनि फेला नपरेको बताए। टेण्डर हत्याउन अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन सुरु गरेको थियो।
औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले समेत छानविन गर्न आन्तरिक राजश्व कार्यालयलाई आग्रह गरेको थियो। गेटाँ आँखा अस्पतालको गत आर्थिक बर्षको औषधी खरीदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको थियो।
अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। सो प्रमाणपत्रमा कर अधिकृत राजभोली साम्बाहाम्फेले हस्ताक्षर रहेका छन्। तर उनको २०७४ असोजमै धनगढीबाट सरुवा भइसकेकोले अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको आरोप लाग्दै आएको छ।
सरुवा भएका कर अधिकृतको हस्ताक्षर स्क्यानिङ गरी मेडिसिनले कर चुक्ताको प्रमाणपत्र बनाईएको हो। अमित मेडिसिनले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले गेटा आखा अस्पतालबाट कागजपत्रहरु नियन्त्रणमा लिएको थियो।