बैतडी २५ असार – बैतडीको मेलौलीमा बस दुर्घटना भएको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए ।
बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेको छ । बसमा सवार ३९ जना घाइतेमध्ये एकको मृत्यु भएको छ । दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका वडा नं ६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
३८ जना घाइते मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घाइतेको पहिचान हुन बाँकी रहेको छ । घाइते मध्ये २२ जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ ।
महेन्द्रनगरका लागि छुटेको बस बैतडीको मेलौलीमा दुर्घटना एक जनाको मृत्यु
महेन्द्रनगरका लागि छुटेको बस बैतडीको मेलौलीमा दुर्घटना एक जनाको मृत्यु