धनगढी२४, असार ÷ कैलालीसहित सुदूरपश्चिम प्रदेशमा दैनिक डेंगुका विरामी बढ्दै गएका छन । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलाली–कञ्चनपुरसहित प्रदेशका आठवटा जिल्लामा डेंगुका विरामी थपिने क्रम जारी रहेको हो ।
सन २०२३ को जुनसम्म देशभरीका ६६ जिल्लामा डेंगुका विरामीको संख्या एक हजार २४ पुगेकोमा सुदूरपश्चिम प्रदेशमा सो अवधिमा दुई सय ६६ विरामीको संख्या पुगेको निर्देशनालयले जनाएको छ ।
प्रदेशअन्र्तगत डेंगुका विरामी बढी फेला पर्नेमा सुदूरपश्चिम प्रदेश दोस्रोमा रहेको छ । यो अवधिमा प्रदेशको डडेल्धुरामा डेंगुका विरामी फेला परेका छैनन् ।
देशभरमै सबैभन्दा बढी डेंगुका विरामी सुदूरपश्चिम प्रदेशको दार्चुलामा फेला परेका छन् । दार्चुलामा यो अवधिमा डेंगुका विरामीको संख्या एक सय ९० पुगेको छ । सन २०२३ को जुलाईसम्म कञ्चनपुरमा ३५, अछाममा १५, कैलालीमा १२, बझाङमा पाँच, डोटीमा चार, बैतढस्मा तीन र बाजुरामा दुई जना डेंगुका विरामी फेला परेका छन् ।
सन २०२२ मा सुदूरपश्चिम प्रदेशमा एक हजार ५५ डेंगुका विरामी फेला परेकोमा चार जनाको मृत्यु भएको थियो । सन २०२२ मा सबैभन्दा बढी डेंगुका विरामी दार्चुलामा फेला परेका थिए । निर्देशनालयका अनुसार दार्चुलामा तीन सय ४७, कैलालीमा दुई सय ६४, कञ्चनपुरमा दुई सय १० विरामी फेला परेका थिए ।
लामखुट्टको टोकाईबाट सर्ने सो रोग हो । डेंगुबाट बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, लामखुट्टेको टोकाइबाट बच्न मल्हम वा मच्छड धुप प्रयोग गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, झ्याल–ढोकामा जाली लगाई घरभित्र लामखुट्टे पस्न नदिने, लामखुट्टे उत्पादन हुने स्रोत नष्ट गर्ने जस्ता काम गर्नुपर्ने छ ।
यस्तै, लगातार बान्ता हुने, बान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने र बेहोस हुने यस रोगको गम्भिर लक्षण हुन ।
एक्कासी उच्च ज्वरो आउने, ज्वरो ५ देखि ७ दिनसम्म रहिरहने, अत्यधिक टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी र मांसपेसी र ढाड दुख्ने, शरीरमा बिमिरा आउने, रिंगटा लाग्ने र वाकवाकी लाग्ने, बान्ता हुने जस्ता लक्षण भए नजिकको स्वास्थ्य संस्थामा गएर परिक्षण गर्नुपर्ने छ ।
डेंगु सार्ने एडिज जातको लामखुट्टेले जमेको सफा थोरै पानीमा पनि फुल पार्छ । पानी जम्ने टिनका डब्बाहरु, प्लाष्टिकका बोतल, प्लाष्टिकका खोल, टायर, सिसी, अन्डाको बोक्रा, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, पानी ट्यांकी लगायत पानी जम्ने भाँडा तथा स्थानहरुमा यो लामखुट्टेले फूल पार्छ । डेंगीबाट बच्न लामखुट्टे उत्पादन हुने यस्ता स्थान नष्ट गरी पानी जम्न दिन नहुने चिकित्सकहरु बताउँछन् ।