धनगढी, २२ चैत/केन्द्रको मुख ताक्दा सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको छ। कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि सरकारले अझै पूर्णता पाएको छैन। सत्तारुढ दलहरुबीचको भागबण्डा टुंगो लगाउन प्रदेश सरकारलाई सकस परेको छ। भागबण्डाका लागि केन्द्रमा भर पर्दा अहिलेसम्म प्रदेश सरकारले पूर्णता पाउन सकेको हो।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए। २१ फागुनमा उनले प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदसहित ४१ सांसदले शाहलाई विश्वासको मत दिएका थिए।
मुख्यमन्त्री नियुक्त हुँदा शाहले कांग्रेसबाट प्रकाश बहादुर देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश कुमार शाहीलाई मन्त्री नियुक्त गरेका थिए। त्यसपछि मुख्यमन्त्री शाहले मन्त्री नियुक्त गर्न सकेका छैनन्। मंसिर ४ को चुनाव पछि २७ पुसमा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेका थिए। उनले आफूसँगै अन्य दुई मन्त्री पनि नियुक्त गरेका थिए।
त्यसबेला पनि सरकारले पूर्णता पाउन सकेको थिएन। विश्वासको मत नपाएपछि रावल नेतृत्वको सरकार २६ माघमा ढलेको थियो। चुनाव भएको चार महिना बितिसक्दा पनि सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन।