काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका दुवै उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको जनाएको हो ।राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका थिए ।
आइतबार एक सूचना जारी गर्दै सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका नेम्वाङविरुद्ध कुनै उजुरी नपरेको जानकारी दिएकी हुन।‘आसन्न राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म राष्ट्रपति पदमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको विरोधमा उजुरी दिन समय तोकिएकोमा सो समयभित्र कुनै पनि उजुरी नपरेको बेहोरा सम्बन्धित सबैलाई जानकारी गरिएको छ,’ उनले भनिन्।
आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा ८८१ जना मतदाता गर्न पाउने जनाइसकेको छ। राष्ट्रपतिको निर्वाचन संघीय संसद् ९प्रतिनिधिसभा तथा राष्ट्रियसभा० र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था रहेको हुँदा संघीय संसद्को ३३१ र सात प्रदेशका प्रदेशसभा सदस्य ५ सय ५० गरी कुल ८ सय ८१ जनाले मतदान गर्न पाउने छन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र्र हुनेछ। संघीय संसद् र प्रदेशसभा सदस्यको मतभार पनि फरक(फरक हुनेछ।
संविधानको धारा ६२ ९१० मा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यको मतभार संघीय कानुन बमोजिम फरक(फरक हुने उल्लेख छ। संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ। संघीय संसद्का सदस्यको कुल मतभार २६ हजार १ सय ४९ र प्रदेशसभा सदस्यको कुल मतभार २६ हजार चार सय हुन्छ।राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।
राष्ट्रपति निर्वाचनको कार्यतालिका अनुसार आयोगले मतदाता नामावली प्रकाशित गरेपछि फागुन ११ र १२ गते दाबी, विरोध र उजुरीउपर छानबिन गरी मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गरेर अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ। राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन र फागुन २५ गते राष्ट्रपति निर्वाचन बानेश्वरस्थित संघीय संसद भवनमा हुनेछ।