धनगढी, २८ माघ/धनगढीका मेयर गोपाल हमालकी छोरी अर्तुसा हमालले भिडियो खिचिरहेका पत्रकारको क्यामरा रोकेको स्वीकार गरेकी छन् । अर्तुसा हमालले यूटुयुबमा भिडियो पोष्ट गर्दै भिडियो खिच्न लागेका पत्रकारको क्यामरा रोकेको स्वीकारेकी छन् ।
माघ २६ गते बिहीबार बिहान पौने ११ बजेको समयमा मुख्यमन्त्री कार्यालय अगाडि विवाद भएर भिडभाड भइरहेको दृश्य क्यामेरामा कैद गर्दै गर्दा मेयर हमालकी छोरी आर्तुसाले एभिन्युजका पत्रकार बिवेक नागरीको क्यामेरा खोस्दै बोलेर धम्क्याएकी थिईन् ।मुख्य बजारको बिच सडकमै भिडभाड हुने गरी ट्राफिक जाम भएपछि पत्रकार नागरीले के रहेछ भनेर क्यामेरा खोलेर भिडियो खिच्दै गर्दा मेयर हमालकी छोरी आर्तुसाले आफू पनि दिनेश एफएमको मान्छे भएको भन्दै पत्रकार नागरीलाई उल्टै धम्क्याइन् ।
‘हामी पनि दिनेश एफएमका मान्छे हौँ,’ उनले पत्रकार नागरीलाई धम्क्याउँदै भनिन्,‘रमाइलो गर्नका लागि भिडियो खिच्ने ?’ आफू मेयरको छोरी भएको उनी आफैले सडकमा बताएकी थिइन् । पत्रकार नागरीका अनुसार त्यहाँ केही घटना भएको भन्ने सामान्य जानकारी पाएको र त्यही विषयमा विस्तृतमा बुझ्न भिडियो खिचिरहेका बेला हमालले अचानक किन खिचेको भन्दै धम्काएको बताएका छन् ।उता आर्तुसाले भने पछि एक भिडियो सार्वजनिक गर्दै आफूले अनुमतिबिना भिडियो नखिच्न भनेको तर पत्रकारमाथि दुव्र्यवहार नगरेको बताएकी छिन् । तर, भिडियो खिच्न भने रोकेको बताएकी छन् ।
यूटुयुबमा एउटा भिडियो पोस्ट गर्दै उनले भनेकी छिन्, ‘मेरो गाडीलाई अर्को गाडीले ठोकेको विषयमा कुराकानी भईरहँद्या एकजना मान्छे साइडमा उभिएर आफ्नो फोनको क्यामराले भिडियो रेकर्डिङ गर्दैथ्यो । उसको घाटीमा न पत्रकारको ट्याग थियो न कोही थियो । उसले पत्रकार जसरी नभएर एउटा सामान्य मान्छे जसरी भिडियो खिचिरहेको थियो । कोही १० जना आएर एउटा केटी मान्छेमाथि खनिएपछि कसैले पनि भिडियो रेकर्ड भएको देख्न सक्दैन । मैले भिडियो रेकर्ड नगर्न र बन्द गर्न भनेको हुँ । त्यो मान्छेले मानेन । किन म रोकुँ, किन म रोकुँ भन्न थाल्यो । मेरो व्यक्तिगत जीवनको भिडियो खिच्ने अधिकार तपाईलाई छैन भन्दा पनि रोकिएन । त्यसपछि मैले उसको क्यामरा हातले थुनेको हो । आफ्नो आमाले भिडियो डिलिट गर्न भन्दा आमाको हात समातेर पर धकेलिदिएको उनले भिडियोमा बताएकी छिन् ।
(भिडियो)