धनगढी/धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आर्तुसा हमालले एभिन्यूज टेलिभिजनका पत्रकार विवेक नागरीमाथि दुर्व्यवहार गरेकी छन् । बिहीबार बिहान पौने ११ बजेको समयमा मुख्यमन्त्री कार्यालय अगाडि विवाद भएर भिडभाड भइरहेको दृश्य क्यामेरामा कैद गर्दै गर्दा मेयर हमालकी छोरी आर्तुसाले पत्रकार नागरीको क्यामेरा खोस्दै धम्क्याएकी हुन् ।
मुख्य बजारको बिच सडकमै भिडभाड हुने गरी ट्राफिक जाम भएपछि पत्रकार नागरीले के रहेछ भनेर क्यामेरा खोलेर भिडियो खिच्दै गर्दा मेयर हमालकी छोरी आर्तुसाले आफू पनि दिनेश एफएमको मान्छे भएको भन्दै पत्रकार नागरीलाई उल्टै धम्क्याइन् ।
‘हामी पनि दिनेश एफएमका मान्छे हौँ,’ उनले पत्रकार नागरीलाई धम्क्याउँदै भनिन्,‘रमाइलो गर्नका लागि भिडियो खिच्ने ?’ आफू मेयरको छोरी भएको उनी आफैले सडकमा बताएकी थिइन् । पत्रकार नागरीका अनुसार त्यहाँ केही घटना भएको भन्ने सामान्य जानकारी पाएको र त्यही विषयमा विस्तृतमा बुझ्न भिडियो खिचिरहेका बेला हमालले अचानक किन खिचेको भन्दै धम्काएको बताएका छन् ।