धनगढी, २६ माघ/नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका नेता रेशम चौधरी छुटाउन लिखित प्रतिबद्धता मागेपछि सरकार र नेकपा (एमाले) सँगको सहमतिको प्रयास असफल भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । तर, विश्वासको मतका लागि निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद बैठकमा अनुपस्थित छन् ।एमालेका एक नेताले सहमति हुन नसकेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत पाउन नसक्ने बताए ।
“नागरिक उन्मुक्तिले लिखित प्रतिबद्धता माग्यो । जन्मकैद सुनाइएका रेशमलाई सरकारले सजिलै कसरी छुट्याउन सक्छ । यो अदालती प्रक्रिया हो । त्यसैले सहमति भएन ।,” एमालेका ती नेताले भने ।
गएको पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेलजीवन बिताइरहेका रेशम चौधरीलगायत नेताहरूलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडान छ । रावल मुख्यमन्त्रीमा नियुक्त हुँदा नागरिक उन्मुक्तिले समर्थन गरेको थियो ।
नागरिक उन्मुक्तिले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यो अवस्थामा सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।
सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, नेकपा ९माओवादी केन्द्र०का ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा ९एकीकृत समाजवादी०का पाँच र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक सांसद छन् ।