काठमाडौं १० माघ/गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको फैसलाका लागि वुधबार पेशी रहेको छ ।संवैधानिक इजलासले पेशी सार्न नमिल्ने र अग्राधिकारसमेत दिएकाले लामिछानेविरुद्धको मुद्दाको वुधबार फैसला बहस हुने सम्भावना बलियो छ। संवैधानिक इजलासले मुद्धाको सुनुवाई गर्ने छ ।
यसअघि अमेरिकाको नागरिकता भएकै समयमा नेपाली नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएको भन्दै लामिछानेलाई सांसदका रुपमा सपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।प्रारम्भिक सुनुवाईमा अन्तरिम आदेश अस्वीकार गरिएपनि उक्त प्रयोजनका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । संवैधानिक इजलासले बहस सुनेपछि अन्तरिम आदेश दिन अस्विकार गरेको थियो ।
पुस २२ गते भएको उक्त सुनुवाईपछि कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसहित ५ जना वरिष्ठतम् न्यायाधीशको इजलासले दुवै पक्षबाट पेशी सार्न नमिल्ने र अग्राधिकारसहित माघ ११ गतेका लागि पूर्ण सुनुवाईको पेशी तोकिएको थियो । लामिछानेको नागरिकता सम्बन्धी विवादमा अहिले काठमाडौं प्रहरी परिसरले पनि अनुसन्धान गरिरहेको छ ।
चितवनबाट प्रतिनिधि सभा सांसद निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती लामिछाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा गृहमन्त्री रहेका छन्। प्रतिनिधि सभाका २ सय ७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद रहेका छन् ।
प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा लामिछानेको उमेद्ध्वारीको विषयलाई लिएर उजुरी परेपनि निर्वाचन आयोगले ठोस निर्णय दिन सकेको थिएन । पूर्ण सुनुवाई अघि संवैधानिक इजलासले निर्वाचन आयोगसँग लामिछानेको उमेद्ध्वारी सम्बन्धमा भएको निर्णयको सक्कल फाइल र प्रहरीमा रहेको अनुसन्धान फाइल पनि झिकाएको छ ।