धनगढी, ७ माघ/कञ्चनपुरको पुनर्वास नगरपालिका–७, डाँडा गाउँ कञ्चनपुरका निवर्तमान भलमन्सा जनक चौधरीलाई एक भव्य कार्यक्रमका बिच शनिवार बिदाइ गरियो । उनलाई खादा माला र प्रमाणपत्र दिई बिदाइ गरिएको हो ।उनीसँगै नयाँ चुनिएका भलमन्सा घुम्मन चौधरीलाई भने स्वागत गरिएको छ । पुनर्वास नगर स्तरीय भलमन्सा समितिले आयोजना गरेको नगर स्तरीय तेस्रो माघी मिलन कार्यक्रममा निवर्तमान भएका ६ जना भलमन्सालाई बिदाइ गरेको हो भने नवनिर्वाचित तथा दोहोरिएको ३२ जना भलमन्सालाई स्वागत गरेको आदिवासी जनजाति महासंघ अध्यक्ष धोखे रानाले जानकारी दिए ।
वर्षौँदेखि गाउँमा भलमन्सा भई काम गर्दै आएको र यसपालिदेखि आफैले भलमन्सा पदमा नबस्ने भनेपछि गाउँ समुदायले नयाँ भलमन्सा छानेको बताउँदै जनक चौधरीले भने,‘पुनर्वास नगर स्तरीय भलमन्सा समितिले पुरानालाई सम्मान गर्दै बिदाइ गरेको छ भने नयाँ तथा दोहोरिएका भलमन्सालाई स्वागत गरेको छ ।’पुनर्वास–७ परासन गाउँका भलमन्सा राजु चौधरी पुनः गाउँलेद्वारा अनुमोदित भए । उनी विगत ६ वर्षदेखि गाउँको भलमन्सा पदमा दोहोरिँदै आएका छन् । ‘यसपालि पनि गाउँ समाजले पुनः मलाई नै दोहोरिन भनेपछि दोहोरिएको छु,’उनले भने,‘समाजको हितमा काम गरेकै हुनाले विगत ६ वर्षदेखि नै गाउँ समाजले दोहो¥याउँदै आएको छ ।’
हरेक वर्षझैँ यस वर्ष पनि नगर स्तरीय भलमन्सा समाजले नयाँ भलमन्सालाई स्वागत तथा निवर्तमान भलमन्सालाई बिदाइ गरेको बताउँदै उनले भने,‘यस्तो कार्यक्रमले हामी नगरभित्र रहेका ३२ गाउँ टोलका ३२ वटै भलमन्सा एक ठाउँमा आएर सुख दुःख साट्दै एक अर्कालाई चिन्ने मौका पाएका छौँ ।’नगर स्तरीय भलमन्सा समितिका संयोजक सुम्मन डगौरा थारुले पुनर्वास नगरपालिका भित्र रहेका ३२ वटै भलमन्सालाई एकै थलोमा ल्याएर सम्मान गर्नुका साथै भेटघाट गर्ने अवसर प्रदान गरेको बताए । उनले भने,‘यो भेटघाट र एक भलमन्साले अपनाएको समाज चलाउने विधि र प्रक्रिया अर्को भलमन्साले सिक्ने अवसर पनि हो ।’
पुनर्वास नगरपालिका भित्र रहेका ३२ वटै भलमन्सालाई नगरपालिकाले उनीहरूको प्रशासनिक खर्च भन्दै प्रोत्साहन स्वरूप वार्षिक ९ हजार रुपैयाँ दिँदै आएको पुनर्वास नगरपालिकाकी उपमेयर भुलिया रानाले बताइन् । उनले भनिन्,‘गाउँका भलमन्सा भनेका न्यायिक समितिका अर्का रूप हुन् । उनीहरूलाई गाउँमा हुने झैँ झगडा तथा न्याय अन्यायका कुराहरू प्रति बढी चासो हुन्छ ।’न्यायिक समितिले भलमन्सालाई तालिम दिई उनीहरूलाई सक्षम बनाउन पहल गर्ने उपमेयर रानाले बताइन् । उनले भनिन्,‘अब चाँडै हामी भलमन्सालाई लक्षित गर्दै ‘स्थानीय भलमन्सा ऐन’ तयार पार्छौँ,’ उनले भनिन्,‘पुस्तौँदेखि थारु समुदायमा चलिआएको भलमन्सा प्रथालाई आधुनिकीकरण गर्दै उनीहरूलाई थप सशक्तीकरण गर्नतर्फ लाग्ने छौँ ।’
भलमन्साको सुरुआत कसरी भयो भन्नेबारेमा ऐतिहासिक तथ्य नभए पनि पुस्तौँदेखि यो प्रणाली अस्तित्वमा रहेको अनुमान गरिएको छ । परापूर्व कालमा हुनेखाने परिवारलाई बडघर तथा भलमन्सा भन्ने गरिएको थारु अगुवा बताउँछन् । परापूर्व कालमा गाउँको सबैभन्दा धनी परिवारको अधीनमा रहेर अन्य गाउँका व्यक्तिहरूले समाजमा आइपर्ने काम गर्नुपर्ने चलन रहेको जानकारहरू बताउँछन् ।
बदलिँदो परिवेशअनुरूप समाजमा नीति निर्माण र अनुशासन कायम गर्नका लागि थारु समुदायले भलमन्सा नियुक्त गर्ने चलन सुरु भएको बताउँदै थारु अगुवा रोशन चौधरी भन्छन्,‘यही अनुसार परम्परादेखि नै भलमन्सा प्रथा चल्दै आएको छ ।’ भलमन्सा ९बडघर० पुरुष मात्रै चयन भई काम गर्दै आएकोमा कतिपय बस्तीमा पछिल्ला वर्षमा महिलालाई पनि यो पदको जिम्मेवारी दिने गरिएको छ ।