धनगढी, २३ पुस/कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधनमा नेपाली काँग्रेस कैलालीले शोक व्यक्त गरेको छ । शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै स्वर्गीय कलेलको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको र उनको निधनप्रति शोक व्यक्त गरेको हो ।
नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले बिज्ञप्ती प्रकाशित गर्दै कलेलको शोकमा आईतबार एक दिन पार्टीको झण्डा आधा झुकाउने र जिल्ला पार्टी कार्यालयमा शोक पुस्तीका राख्ने जनाएको छ ।प्रमुख कलेलको आईतबार बिहान ११ बजे उनको नीजि निवास गौरीगंगा नगरपालिका वडा नम्बर ८ बडैपुरबाट अन्तिम संस्कार गरिने छ ।
५३ बर्षिय प्रमुख कलेलको काठमाडौस्थित विर अस्पतालमा शनिबार दिउँसो १ बजेर ३८ मिनेटमा निधन भएको थियो । कलेजो र किड्नी सम्बन्धी समस्या देखिए पछि उनको अस्पतालमा बिगत एक महिना देखी उपचार भईरहेको थियो । नेपाली कांग्रेसको तर्फबाट गौरीगंगा नगरपालिका वडा नम्बर ८ बाट वडा सदस्य निर्वाचित कलेललाई पार्टीले गत जेठ २१ गते जिल्ला समन्वय समिति प्रमुख पदमा सिफरिश गरेको थियो ।
स्वर्गिय भजन सिह कलेल र आमा स्वर्गिय हिरादेबी कलेलको कोखबाट डोटी जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर १ स्यालीमा कलेलको जन्म भएको थियो । प्रमुख कलेलका चार दाजुभाई मध्येका कान्छो हुन्। उनको श्रीमती, तीन छोरा र तीन छोरी रहेका छन् ।
