धनगढी २० पुस/नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित भएका छन् । उमेदवारी दर्ताको समयसम्म उनीबाहेक कसैको उमेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएका हुन् ।शाहको प्रस्तावक बहादुरसिंह थापा र समर्थक प्रकाश देउवा रहेका थिए । उनी कैलाली निर्वाचन क्षेत्र नम्बर–२ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
कांग्रेस सुदूरपश्चिम दलको नेताका लागि बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहित सातजनाले आकांक्षा राखेका थिए ।मंगलबार बसेको प्रदेश पदाधिकारीको बैठकबाट दलको नेताका आकांक्षीहरूलाई सर्वसम्मत निर्णय गर्न सुझाव दिइएको थियो । तर, सहमति नजुटेपछि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा निर्वाचन समिति बनाइएको थियो ।
उक्त समितिले बुधबार दिउँसो साढे २ बजेसम्म उमेदवार मनोनयनको समय तोकेको थियो । त्यो समय सकिने बेलामा नेताहरूबीच शाहलाई दलको नेता बनाउने सहमति भएको हो । निर्वाचन समितिका संयोजक अवस्थीले दलको नेताका लागि शाहले मात्र मनोनयनपत्र दर्ता गराएको जानकारी दिए ।