धनगढी/जिल्ला प्रशासन कार्यालय कैलालीले सीमानाकामा चेकजाँचलाई कडाईका साथ अघि बढाउन निर्देशन दिएको छ । छिमेकी राष्ट्र भारत तथा चिनमा कोभिडको नयाँ भेरियन्टको संक्रमण बढ्न थालेपछि सीमानाकाबाट आवत जावत गर्नेलाई अनिवार्य चेकजाँच गर्न निर्देशन दिएको हो । बिहिबार प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकले सीमानाकामा चेकजाँचको व्यवस्था कडाईका साथ गर्न निर्णय गरेको छ ।
‘छिमेकी मुलुक भारतमा कोभिडको नयाँ भेरियन्ट सहित संक्रमण बढ्न थालेको अवस्था देखिएकोले सीमानाकामा चेकजाँचको ब्यवस्था कडाईका साथ अघि बढाउ’ निर्णयमा भनिएको छ ‘कोभिड संक्रमणबाट बच्न सार्वजनिक स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा सबै स्थानीयतह कार्यालय र सरोकारवाला सबै पक्षले विशेष ध्यान दिनुपर्ने छ ।’
यस्तै प्रशासनले सीमानाकामा सञ्चालित हेल्थ डेस्कलाई थप जनशक्ति, पुर्वाधार लगायतको व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । ‘सीमानाकामा सञ्चालित हेल्थ डेस्कलाई थप जनशक्ति, पुर्वाधार लगायतका ब्यवस्थापनमा स्वास्थ्य कार्यालय, धनगढी उपमहानगरपालिका र टिकापुर नगरपालिकाले प्रदेश सामाजिक विकास मन्त्रालयसँग समेत समन्वय र सहकार्य गरि प्रभावकारी रुपमा काम गर्नुपर्ने छ ।’