बैतडी ७ पुस/जिल्लाको मेलौलीमा आधारभूत अस्पताल निर्माणका विषयमा विवाद चर्किएपछि दुई पक्षबीच झडप भएको छ । वडा नम्बर १ र ७ का स्थानीयबीच अस्पताल निर्माणका बिषयमा विवाद भएको हो ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिनका लागि वडा नं ७ का स्थानीय बासिन्दाले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए । त्यसका विरुद्धमा वडा नं १ का बासिन्दाले बुधबार नाराबाजी गरे । उनीहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग राखेका छन् ।बिहीबार दुवै पक्षले नाराबाजी गर्दा झडप भएको हो । झडपमा वडा नं ७ का २५ जना घाइते भएका छन् भने उनीहरुमध्ये १० जना जति उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेका छन् । वडा नं १ को समूहले आफूहरुमाथि ढुंगामुढा प्रहार गरेको उनीहरुले आरोप लगाएका छन् ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि वडा नं ७ का घाइतेमात्रै पुगेका बताइएको छ । वडा नं १ तर्फका १० जना घाइते भएको स्थानीय विजयसिंह नायकले बताए ।अस्पताल निर्माणका बिषयमा दुवै पक्षबीच झडप भएको र घाइतेको संख्या एकिन नभएको इलाका प्रहरी कार्यालय तस्सुदेहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरीसहितको टोली मेलौलीका लागि हिँडेको बताइएको छ ।
अस्पतालको नाममा वडा नं १ र ७ दुवै ठाउँमा जमिन हुँदा कुन ठाउँमा बनाउने भन्ने विषय अहिलेसम्म सुल्झेको छैन । २०७० सालदेखि अस्पताल निर्माणको कुरा उठेपनि स्थानीयहरुबीच विवाद हुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन ।अस्पतालकै विषयलाई लिएर दुवै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन् ।