धनगढी, २ पुस/निर्वाचन आयोग नेपालले सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई प्रदेश सभा सदस्य निर्वाचन परिणाम प्रतिवेदन पेश गरेको छ । आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधर सहितको टोलीले शनिबार दिउँसो प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएको हो ।
डा. तुलाधरले शनिबार सातै प्रदेशमा प्रतिवेदन बुझाउने कार्यक्रम अनुसार सुदूरपश्चिम प्रदेशमा समेत प्रतिवेदन बुझाइएको बताएकी छिन् । प्रतिबेदनका अनुसार सुदूरपश्चिम प्रदेश सभामा ३५ पुरुष र १८ महिला निर्वाचित भएका छन् । प्रदेश सभामा प्रतिशतका हिसाबले पुरुष ६६.३ र महिला ३३. ९७ रहेका छन् । २०७४ को प्रदेश सभामा १७ जना महिलाको प्रतिनिधित्व भएकोमा यसपटक एक जना बढेर १८ जना पुगेको छ ।
सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ नेकपा (एमाले) र नेपाली कांग्रेसले समान ७÷७ सिट, नेकपा (माओवादी केन्द्र) ले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई, नेकपा (एकीकृत समाजवादी) र राप्रपाले १÷१ सिट पाएका प्रदेश निर्वाचन सुदूरपश्चिम प्रदेश धनगढीका कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए । समानुपातिकमा नेकपा (एमाले) ले ३२.२३, नेपाली कांग्रेस ३१.३६, नेकपा (माओवादी केन्द्र) ले १४.२५, नागरिक उन्मुक्ति पार्टीले ११.५६, नेकपा (एकीकृत समाजवादी) ५.१५ र राप्रपाले ५.१९ प्रतिशत मत पाएको प्रतिबेदनमा उल्लेख छ ।
समानुपातिक सिटको बाँडफाँडसँगै प्रदेश सभामा नेपाली कांग्रेस १९, नेकपा (माओवादी केन्द्र) ले ११, नेकपा (एमाले ) १०, नागरिक उन्मुक्ति पार्टीले सात, नेकपा (एकीकृत समाजवादी) चार, राप्रपा र स्वतन्त्रको १÷१ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व भएको छ । आयुक्त डा. तुलाधरका अनुसार सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता रहेकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नौ लाख ५८ हजार ८४५ (५७.८३ प्रतिशतले) ले मतदान गरेकोमा नौ लाख १३ हजार ८७८ अर्थात ९५.३१ प्रतिशत मत सदर भएको थियो । त्यसमध्ये ४४ हजार ९६७ अर्थात् ४.६९ प्रतिशत मत बदर भएको थियो ।
यस्तै समानुपातिकतर्फ नौ लाख ५७ हजार २६९ (५७.७४ प्रतिशत) ले मतदान गरेकोमा आठ लाख ९६ हजार ३५९ (९३.६४ प्रतिशत) मत सदर भएको थियो । समानुपातिमा ६० हजार ८७४ अर्थात् ६.३६ प्रतिशत मत बदर भएको थियो ।