-एजेन्सी
इरानले सरकार विरोधी प्रदर्शनमा पक्राउ परेकाहरुलाई कडा सजाय दिने जनाएको छ। इन्धनको मूल्य वृद्धिको विरोधमा देशभर प्रदर्शन चर्किएपछि सरकारले आन्दोलन दबाउन सुरक्षाकर्मी परिचालन गरेको थियो। प्रदर्शन बढ्दै गएपछि एक सातासम्म देशका अधिकांश भागमा इन्टरनेटसमेत कटौती गरिएको थियो। इरानले भने संयुक्त राज्य अमेरिका, इजरायल र साउदी अरेबियाले आफ्नो देशमा आन्दोलन मच्चाउन सहयोग गरेको आरोप लगाएको छ।
इन्धनको मूल्य वृद्धि गर्ने सरकारी निर्णयको विरोधमा नोभेम्बर १ देखि इरानमा प्रदर्शन सुरु भएको हो। आन्दोलनकारीले प्रदर्शनका क्रममा सरकारी कार्यालय, बैंक तथा निजी पसलहरुमासमेत तोडफोड र आगजनी गरेका थिए। प्रदर्शनका क्रममा एक सय भन्दा बढी मारिएको मानवअधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले जनाएको छ।