डडेल्धुरा ,८ मंसिर ।
डडेल्धुरा जिल्लाको भित्री मधेस क्षेत्रमा पर्ने पर्शुराम नगरपालिकाका दुई वडामा मलेरिया रोगका बिरामी भेटिएका छन् । पर्शुराम नगरपालिकामा मलेरियाका १० बिरामी फेला परेको साँदनी स्वास्थ्य चौकीले जनाएको छ ।
नगरपालिको ६ र ७ बाट बिरामी भएर साँदनी स्वास्थ्य चौकीमा जचाँउन आएका व्यक्तिको रगत परीक्षण गर्दा मलेरियाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टरकन्टोलर सुपरभाईजर हरिप्रसाद भट्टले बताए ।
दुई हप्ता अघिदेखि फैलिएको मलेरिया रोगका बिरामीले निःशुल्क औषधि सेवन गरिरहेका छन् भने त्यसमध्ये २ जनालाई ठिक भइ सकेको भेक्टरकन्टोलर सुपरभाईजर भट्टले बताए ।
पाँच दिनदेखि स्वास्थ्यकर्मीको टोली संक्रमण रहेको सम्भावित रामपुर, भोरकुण्डा, थालिगडा, ठुलागडालगायतका क्षेत्रमा नियन्त्रणका लागि औषधि समेत छर्किरहेको स्वासस्थ्य संस्थाले जनाएको छ।