काठमाडौं, ८ कार्तिक । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनको लागि राजनीतिक दल तथा उमेदवारहरूले सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन जारी गरेको छ ।
आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसाभातर्फका उमेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न सक्ने उल्लेख छ ।
१) प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उमेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न सक्ने,
२) प्रदेशसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य पदको उमेदवारले १ ९एक० वटा सम्पर्क कार्यालय खोल्न सक्ने,
३) प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उमेदवारी पेस गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एउटा सम्पर्क कार्यालय खोल्न सक्ने,
४) प्रकरण नं. १. २. र ३ बमोजिम कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्ने,
५) प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यतर्फ उमेदवारी दिई निर्वाचन चिह्न प्राप्त गरी सकेपछि त्यस्ता उमेदवारले अन्य कुनै उमेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उमेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने,
६) प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उमेदवारको निर्वाचन खर्चमा समावेश गर्ने,
७)राजनीतिक दल वा उमेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउने ।