धनगढी ५,असार। पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ।
स्वास्थ्य सेवा विभाग र नेपाल स्वास्थ्य पत्रकार मञ्चले आज आयोजना गरेको ‘कोभिड-१९ विरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा रोकथाम नियन्त्रण’सम्बन्धि अन्तरक्रियामा सामाजिक विकास मन्त्रालयका अधिकृत हेम राज खड्काले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको बताए।
सरकारले यही असार ९ गतेदेखि पाँचदेखि १२ वर्ष मुनिका ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन तयारी गरेको छ। विभागले खोप विद्यालयमा नै गएर लगाउने भएको छ। खड्काले खोप लगाउनका लागि खोप केन्द्रमा एक तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने जानकारी दिए।
खोप लगाएमा बालबालिकामा केही असर देखिने भएकाले खोप केन्द्रमा नै उपचारको व्यवस्था गरिएको खड्काले बताए।‘खोप लगाएपछि बालबालिकामा केही असर देखिए हामी त्यही अनुसन्धान गर्दछौँ’, उनले भने, ‘असरलाई स्वास्थ्यकर्मीले उपचार गर्दछन्।’
२७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ।
यस्तै, दोस्रो चरण ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिने छ। पाँच वर्षदेखि १२ वर्षमूनिका उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा खोप लगाइने छ। यस्तै, विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ।
विभागका महानिर्देशकदया प्रसाद पन्त भने खोप सुरक्षित र प्रभावकारिता रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरे।खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गरिने छ। खोप केन्द्र तोकिएका विद्यालय र अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थामा खोप लगाइनेछ।
सामाजिक विकास मन्त्रालय अधिकृत हेम राज खड्काले भने विद्यालय बाहिर रहेका बालबालिकालाई पनि खोजी खोजी खोप लगाइने बताए। खोप सरकारलाई कोभ्याक्सले निःशुल्क उपलब्ध गराएको हो।
पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप लगाइनेछ। प्रदेश १ को झापा, इलाम, सुनसरी, मोरङ, मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा, वाग्मती प्रदेशको मकवानपुर, सिन्धुली, चितवन, काभ्रेपलान्चोक, काठमाडौं, भक्तपुर र ललितपुरका विद्यालयका बालबालिकालाई खोप लगाइनेछ।
गण्डकी प्रदेशको कास्की र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रूपन्देही, दाङ, बाँके र बर्दिया, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप लगाइनेछ।